Wednesday, October 24, 2012

मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने


-गोविन्दप्रसाद पौडेल

नेपालीहरु जातैले वीर हुन्। विदेशी सेनामा रहेर होस् वा नरहेर होस्, नेपाली खूब लडेका छन्। कारगील अथवा फकलेण्डको युद्धमा समेत नेपालीलाई नै अग्रपंक्तिमा राखेर लडाइयो। कवि भूपिले भनेजस्तो हामी वीर भएरै बुद्धु भएका हौं कि बुद्धु भएर वीर भएका हौं, स्पष्ट छैन। तर विदेशीले अव नेपाली-नेपालीलाई नेपालमै आमनेसामने राखेर लडाउन थालेको छ। कुनै हतियार काम नलागेपछि जातजाति र भेगका नाममा लडाइँदै छ। नयाँ नेपाल डाहा बन्दैछ।
नामले डेमोक्रेटिक हुने भए सबै डेमोक्रेटिक हुने थिए। अवधारणा डेमोक्रेटिक हुनसक्दा सर्वसत्तावादी हुने हो। मंगोल डेमोक्रेटिक पार्टी त्यही क्याटगोरीको पार्टीको रुपमा अग्रसर हुनलागेको छ। एमाओवादीले एकल जातीय आधारमा संघीयता हुनुपर्छ भनेर जातीय भोटबैंक कब्जा गर्न लागेका बेलामा मंगोल डेमोक्रेटिक पार्टीले एकलाख सदस्य बनाउने अभियान थालेको छ। पहिले पनि राजा रजौटा र बाहुनक्षेत्रीबादको एजेन्डा बोकेको मंगोल डेमोक्रेटिक पार्टी अव नेपालमा रक्तपात गराउने भूमिका निर्माण गर्न लागेको छ।
स्रोतका अनुसार 'मंगोल डेमोक्रेटिक पार्टीको निर्देशात्मक सिद्धान्तलाई टिम स्पृटकासाथ अगाडि बढाउनु पर्ने भएको र यस वर्ष काठमाडौं उपत्यकामा मात्र मंगोल डेमोक्रेटिक पार्टीले थप एक लाख नयाँ सदस्य बनाउने घोषणा गरी उपत्यकामा संगठन विस्तार र सदस्यता वितरण अभियानलाई तीब्र रुपमा अगाडि बढाइरहेको छ।' मंगोल डेमोक्रेटिक पार्टीको यस अभियानमा विदेशी हिन्दु आर्यन बाहुन क्षेत्रीबाट शोषित पीडित सबै मूलबासी मंगोल समुदाय सहभागी भई राजनैतिक, वैचारिक, आर्थिक, नैतिक एवं भौतिक रुपमा सहयोग गरिदैछ।  नेपालका अहिन्दु मूलबासी मंगोल समुदायमाथि ४ सय ५० वर्षदेखि शोषण, दमन, अन्याय र अत्याचार गर्दै आइरहेको यो विदेशी हिन्दु आर्यन बाहुनवादी राज्यसत्ताको पूर्ण रुपमा अन्त्य गरी राष्टिय पहिचान सहितको संघियता र संघियता सहितको संविधान, धर्मनिपेक्ष र समृद्धशाली नेपाल निर्माण गर्नका निम्ति एक थोपा रगत र एक मुठी प्राण रहेसम्म अफ्नो समुदायको अस्तित्वको रक्षा र मुक्तिको निम्ति लडिरहन प्रण गरेको छ।' यसरी मंगोल डेमोक्रेटिक पार्टीको निर्देश जारी हुँदासम्म पनि राज्य र राजनीतिक दलहरुले कुनै प्रतिकृया जनाएका छैनन्।
सिधै देखिएको यथार्थ के हो भने जति पनि ठूला दलहरु छन्, ती सबै दलहरुभित्र बाहुनहरु नेतृत्वमा छन्। क्षेत्री र हिन्दुहरु शक्तिशाली रहेका छन्। यो अवस्थामा मंगोल डेमोक्रेटिक पार्टीले सञ्चालन गरेको अभियान एकथोप रगत र एकमुठी प्राण भएसम्म लड्ने प्रतिवद्धताले बहुलवादी समाज व्यवस्थामा असर पुग्छ कि पुग्दैन? पुग्छ भने ती जातीय एकता र जातीय समानताको पक्षधर भनिएकाहरु किन जिब्रो तालुमा टाँसेर बसिरहेका छन्? आश्चर्य लाग्छ।

No comments:

Post a Comment