जमिम शाहको हत्या र युनुस अन्सारीमाथि केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको घटनामा सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको निष्कर्ष छ- अबको निशाना पूर्वयुवराज पारस शाह हुन्। यी दुई जाँचबुझ आयोग मात्र होइन, प्रहरी र मुलुकको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग आफैँले गरेका आन्तरिक छानबीनमा पनि पारस असुरक्षित रहेको विश्लेषण प्रस्तुत छ। त्यसपछिको फैजान अहमद हत्यासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन होस् वा विभिन्न सुरक्षा निकायका आन्तरिक सुरक्षा विश्लेषण, अबको सम्भावित निशानाका रू पमा पारसको नाम कहीँ न कहीँ जोडिएको छ।
पूर्वयुवराज पारस शाहका लागि विदेश जानु ठूलो कुरा होइन। तर उनी लामो समयदेखि मुलुकबाहिरै छन्, खास गरी २०६७सालदेखि। २०६२- ६३ सालको दोस्रो जनआन्दोलनको बलमा पुनःस्थापित संसद्को २०६३ जेठ ४ को बैठकले नै तत्कालीन राजाका धेरै अधिकार कटौती गर्दै राजतन्त्र अन्त्यको सङ्केत गरिसकेको थियो। त्यसले मूर्तरूप लियो २०६५ जेठ १५ मा। नवनिर्वाचित संविधानसभाको पहिलो बैठकले अत्यधिक मत, अझ भनौं सर्वसम्मत (राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाहेक) बाट राजतन्त्रको समाप्ति र गणतन्त्र स्थापनाको घोषणा गर्यो। त्यससँगै करिब २ सय ४० वर्ष लामो राजतन्त्रको अन्त्य भयो। तत्कालीन राजा ज्ञानेन्द्र शाह अन्तिम राजाका रूपमा इतिहासमा दर्ज भए। यो निर्णयसँगै ज्ञानेन्द्रलाई पूर्वराजा हुनुको र पारसलाई उनको शेषपछि स्वतः राजा हुन पाउने अवसरबाट वञ्चित हुनुपर्नाको स्वाभाविक विरक्ति थियो। तर जेठ १५ को घोषणासँगै तत्कालीन सरकारले नारायणहिटी छाड्न दिएको पन्ध्रदिने अल्टिमेटम स्वीकार्दै ज्ञानेन्द्र शाह सरकारले नै उपलब्ध गराएको नागार्जुनस्थित निवासतिर लागे भने पारस निर्मल निवासतिर।
यी घटनाक्रमपछि पनि पारस लामै समय मुलुकभित्र सार्वजनिक जीवनमा देखिए। उनी कहिले पत्नी हिमानीको समाजसेवा अभियानमा सहयोगीका रूपमा देखिए त कहिले उनलाई नै कुटपिट गरेको जस्ता हल्लाका कारण चर्चामा रहे। यसैबीच २०६६ मंसिर २५ मा उनी कांग्रेस नेतृ सुजाता कोइरालाका छोरीज्वाइँ बंगलादेशी नागरिक रुबेल चौधरीसँग चितवनस्थित होटल टाइगर टप्समा भएको झगडाका कारण विवादमा तानिए। त्यही प्रकरणमा उनले पोखरामा स्वैच्छिक गिरफ्तारी दिएर चितवन प्रशासनमा तारेखसमेत बुझ्नुपर्यो। पारस राजतन्त्र अन्त्यपछिको करिब दुई वर्षभन्दा बढी अवधिमा धेरैजसो मुलुकभित्रै रहेका, देखिएका थिए। २०६७ सालदेखि यदाकदा छोटो समयका लागि, त्यो पनि गोप्य रूपमा मुलुक आएर र्फकने गरेका उनी पूर्णरूपमा विदेशमा बसोबास गरिरहेका छन्। किन ? राजतन्त्र नर्फकने सुनिश्चितताका कारण वा व्यक्तिगत झैझगडाका कारण भएको बदनामीले ? आफ्नै पिता ज्ञानेन्द्र, पत्नी हिमानीसँगको खटपट वा कुटपिट नै भयो भनेर हुरीझैँ आएर बतासझैँ हराउने चर्चाका कारणले ?
यीमध्येको कुनै कारणले उनको आप्रवासमा थोरै भूमिका अवश्य खेलेको होला, तर उनले मुलुक छाड्नुको प्रमुख कारण हो- व्यक्तिगत सुरक्षा। सयौंको संख्यामा विशेष तालिमप्राप्त सैनिकको चौबीसघण्टे कडा सुरक्षाबीच पनि २०५८ जेठ १९ मा नारायणहिटी दरबारभित्र भएको हत्याकाण्डका एक प्रत्यक्षदर्शी पारसले जसै आफूमाथि ज्यान लिने तहको आक्रमण हुने खबर थाहा पाए, त्यसपछि मुलुक छाडे। उनलाई राम्रै थाहा थियो- कुनै शक्तिकेन्द्रले चाहँदा बहालवाला राजा, रानी, युवराजसहित करीब एक दर्जन विशिष्ट व्यक्ति, त्यो पनि अति सुरक्षित मानिएको दरबारभित्रै एक चिहान हुन सक्छन् भने पूर्वयुवराजको पगरीले मात्र उनको सुरक्षा गर्न सक्दैन।
जमिम शाहको हत्या र युनुस अन्सारीमाथि केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको घटनामा सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको निष्कर्ष छ- अबको निशाना पूर्वयुवराज पारस शाह हुन्। यी दुई जाँचबुझ आयोग मात्र होइन, प्रहरी र मुलुकको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग आफैँले गरेका आन्तरिक छानबीनमा पनि पारस असुरक्षित रहेको विश्लेषण प्रस्तुत छ। त्यसपछिको फैजान अहमद हत्यासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन होस् वा विभिन्न सुरक्षा निकायका आन्तरिक सुरक्षा विश्लेषण, अबको सम्भावित निशानाका रू पमा पारसको नाम कहीँ न कहीँ जोडिएको छ।
आखिर कसले र किन मार्न चाहन्छ पारसलाई ? सुरक्षा विश्लेषणको सार छ- दक्षिणी छिमेकी भारत प्रायोजित छोटा राजनको अन्डरवल्र्ड समूहको निशानामा छन् पारस। नेपाली भूमिमा मारिएका र भारतले आफूविरोधी गतिविधि गरेको, पाकिस्तानी बाह्य गुप्तचर संस्था इन्टर सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) तथा अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग साँठगाँठ गरेको आरोप लगाउँदै आएका मुस्लिम समुदायका केही व्यक्तिसँगै जोडेर र नजोडिकन पनि पारसमाथि त्यस्तै आरोप लाग्ने गरेको छ। खास गरी गणतन्त्र स्थापनायता पारसप्रति भारतीय पक्ष निकै अनुदार बनेको देखिन्छ। त्यसो त पहिले पनि उनको नाम दाउदसँग जोडिएर नआएको होइन, तर अचेल उनलाई सामान्य आपराधिक पृष्ठभूमिका व्यक्तिसँग समेत जोड्न थालिएको छ। विगतमा दाउदसँग उनको सम्बन्ध देखाइनुमा राजनैतिक कारण देखा पर्थे भने यतिखेर विभिन्न आपराधिक घटनामा उनको नाम जोडिने गरेको छ।
दाउदले भारतीय नक्कली नोट छाप्ने र ती नोट सिंगापुरबाट पारस र युनुसले नेपाल हुँदै अन्य देशमा पुर्याउने गरेको भारतीय पक्षको दाबी छ। भारतीय सुरक्षा निकाय (प्रहरी, गुप्तचर लगायत) को हवाला दिँदै त्यहाँका सञ्चार माध्यमले मिर्जा दिलसाद बेग, मजिद मनिहार, शौकत बेग र जमिम शाहलाई पनि नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएका थिए। यस्ता आरोपसँगै यी तीनै जना नेपालीको भारतीय आपराधिक गिरोहबाट हत्या गराइएको छ र भारतीय जेलमा सजाय भोगिरहेका अन्डरवल्र्ड गिरोहका व्यक्तिबाट हत्याको जिम्मेवारी लिन लगाउने काम भएको छ। यस्तै आरोपमा युनुस अन्सारीको हत्याप्रयास भएको छ। त्यसैले पनि युनुससँगै जोडिएर चर्चा गरिएका पारस असुरक्षामा रहेको निष्कर्षमा सुरक्षा निकाय पुगेको हो।
मिर्जा, जमिम, मजिद, शौकतको हत्या र युनुसमाथिको हमलामा भारतमा आश्रय लिएर बसेका अन्डरवल्र्ड डन छोटा राजन समूहको संलग्नताबारे विभिन्न उच्चस्तरीय जाँचबुझ आयोग तथा सुरक्षा निकायका छानबिन समितिका प्रतिवेदनहरूले स्पष्ट बोलेका छन्। छोटा राजन समूहकै बब्लु श्रीवास्तव लगायत अन्डरवल्र्डका कतिपय हस्ती भारतीय जेलमा छन् र घटनाको प्रमुख योजना जेलभित्रैबाट बन्ने गरेको पनि खुलासा भैसकेको छ। यस समूहलाई भारतीय संस्थापन पक्षले बाह्य गुप्तचर संस्था 'र' (रिसर्च एन्ड एनालिसिस विङ) तथा अन्य सुरक्षा निकायमार्फत सघाएको निष्कर्ष पटक-पटक निकालिसकिएको छ। अर्थात् राजन समूहको निशानामा हुनु भनेको भारतीय संस्थापन पक्षकै निशानामा हुनु हो भन्ने तथ्य कसैबाट लुकेको छैन।
एक उच्चस्तरीय जाँचबुझ आयोगको निष्कर्षः
नक्कली नोटको कारोबारमा संलग्न भएको आरोप लगाउँदै विभिन्न आपराधिक समूहको सहयोगमा नेपालीहरूको हत्या गर्दै आएको भारतको आपराधिक गिरोहले पछिल्लो समयमा नेपालका पूर्वयुवराज पारस शाह र भारतीय सञ्चार माध्यमबाट पारसकै सहयोगीका रूपमा प्रचारित युनुस अन्सारीको हत्या गर्ने योजना बनाएको रहस्य खुलेको छ। भारतीय सञ्चार माध्यममार्फत पारस र युनुसविरुद्ध समाचार सम्प्रेषण गर्न लगाएर उनीहरू दुवैको हत्या गर्ने योजना बनाएको कुरा जमिम शाहको हत्याकाण्डपछि खुलासा भएको छ। पारस र युनुसलाई भारतीय सञ्चार माध्यमले दाउद इब्राहिमसँग मिलेर भारतीय नक्कली नोटको कारोबार गरिरहेको आरोप लगाएका छन्। भारतीय सञ्चारमाध्यमले ने पालीमाथि नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोप लगाउने र भारतीय गुन्डाहरूले ती आरोप लगाइएका नेपालीको हत्या गर्ने गर्दै आएका छन्। भारतीय सञ्चारमाध्यमले भारतप्रतिकूल काम गरेको आरोप लगाउँदै समाचार सम्प्रेषण गरेपछि त्यसरी आरोपित नेपालीहरू को ही पनि बाँच्न पाएका छैनन्। यसरी नेपालीमाथि गलत आरोप लगाउँदै हत्या गर्ने क्रम बढिरहेको बेला युनुस अन्सारीलाई नक्कली नोटको कारोबारको आरोपमा जेल पठाइएको छ भने पूर्वयुवराज पारसलाई फसाउन वा उनीमाथि आक्रमण गर्न विशेष योजना बनाइएको चर्चाले व्यापकता पाएको छ।
यस तथ्यबाट युनुस जेल गएदेखि नै पारसमाथि आक्रमण गर्ने छोटा राजन गिरोहको योजना थियो भन्ने स्पष्ट हुन्छ। के आरोपित गरिए जस्तै पारस दाउदका लागि काम गर्थे, गर्छन् ? के साँच्चै उनी नक्कली भारतीय रूपैयाँको कारोबारी हुन् ? यी दुवै आरोपमा कति सत्यता छ, त्यो छानबीनको विषय हो। तर राजतन्त्रको अन्त्यपछि पारसले एक पटक दाउदलाई भेटेको सूचनाचाहिँ मुलुकभित्रकै सुरक्षा निकायसम्म पनि पुगे को छ। एक वरिष्ठ प्रहरी अधिकृत भन्छन्, 'सन् २००९ को अन्त्यतिर मलेसियामा सो भेट भएको विश्वस्त सूचना आए पनि त्यसबारे विस्तृत विवरण प्राप्त भएको छैन। भेटको यकिन मिति र स्थानबारे स्पष्ट सूचना नपाएपछि उद्देश्य पहिल्याउने प्रश्नै रहेन। त्यसैले यसलाई बेग्लै छानबीनको विषय बनाउन गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) र प्रहरीकै अनुसन्धानसम्बद्ध निकायलाई जानकारी गराइएको छ।'
राजतन्त्रको समाप्तिसँगै भावी राजा बन्ने अवसरबाट वञ्चित पारस विरक्तिनु स्वाभाविक थियो। राजतन्त्रको समाप्तिमा मुलुकभित्रका राजनीतिक दलहरूको भन्दा पनि भारतीय भूमिका प्रमुख रहेको उनको बुझाइ थियो। तत्कालीन सात दल र माओवादीलाई नयाँ दिल्लीमा लगेर १२ बुँदे समझदारी गराउनमा भारतले मुख्य भूमिका खेलेको तथ्य सार्वजनिक भइसकेको छ। यदाकदा पारस सशस्त्र युद्ध लडिरहेको माओवादीसँग करिब-करिब सम्झौता भइसकेको तर भारतले १२ बुँदे समझदारी गराएर भाँडेको भनी दरबारनिकट राजनीतिकर्मीसँग चर्चा गर्थे। सात दल र माओवादी एक ठाउँमा नआएको भए राजतन्त्र समाप्त नहुने, बरु दरबार र माओवादी मिलेको भए सात दल समाप्त हुने उनको बुझाइ थियो। त्यसैले भारतप्रति उनको आक्रोश प्रस्टै देखिन्थ्यो। यही आवेगमा आएर उनले भारतीय पक्षको टाउको दुखाइमा प्रमुख भूमिका खेल्नेमध्येका एक दाउदलाई भेटेका हुन् वा कुनै ठूलो योजना अथवा अवैध कारोबारका लागि भेट भएको हो, विस्तृत छानबिनबिना किटान गर्न सकिँदैन। भारतीय गुप्तचर स्रोतबाट भने पारसको लामै समयदेखि दाउदसँग सम्बन्ध रहेको, नक्कली नोटको कारोबारमा प्रत्यक्ष संलग्नता रहेको जस्ता सूचना आउने गरेका छन्। एक सुरक्षा अधिकृत भन्छन्, 'हिजो (राजतन्त्रकालमा) तिनलाई केलाउने र पहिल्याउने हिम्मत सुरक्षा निकायसँग थिएन, आज सामथ्र्य छैन।'
राजधानीमा व्यापार गरिरहेका केही मुस्लिम युवा पारसका साथी थिए, छन्। फुर्सदमा तिनीहरूसँग पारस समय बिताउँथे, पार्टी गर्थे, रेस्टुराँ र डिस्को जान्थे। बेलाबखत लागूऔषध लिने गर्थे। नक्कली भारतीय नोट, भारतविरोधी गतिविधिमा संलग्न वा भारतीय पक्षबाट आरोप लगाइएका मुस्लिम समुदायका व्यवसायी, व्यक्तिहरू ती युवाका नाता-सम्बन्धी वा चिनेजानेका व्यक्ति हुन्थे। एक प्रहरी अधिकृतको बुझाइमा, 'पारस शाहज्यादा र युवराज रहेका बेला ती युवा साथीले त्यस्ता आफन्त वा चिनेजानेका व्यक्तिको पक्षमा काम गरिदिन आग्रह गर्थे। पारसले सहयो गका लागि प्रहरीलाई निर्देश गर्थे। पारसको दाउदसँग सम्बन्ध रहेको वा नक्कली भारतीय रूपैयाँ ओसार-पसारमा उनी संलग्न थिए, छन् भनी आरोप लाग्नुको पछाडिको एउटा कारण यो पनि हुन सक्छ।' दाउद र पारस सम्बन्धसँगै जोडिएका युनुस अन्सारी भन्छन्- 'मैले भारतीय दूतावासको खेदाइ विगत १० वर्षदेखि भोगिरहेको छु। भारतीय टेलिभिजन च्यानलमा जाली मुद्रा कारोबारका लागि तत्कालीन युवराज पारसलाई सिङ्गापुरमा दाउदसँग भेट गराएको समेत मलाई आरोप लगाइएको छ।'
पारसमाथिको भारतीय पक्षको आरोपका पछाडि अर्को एउटा कारण पनि हुन सक्छ र त्यो हो— दरबार हत्याकाण्ड। तत्कालीन राजदरबारमा उच्च ओहदामा रहिसकेका सुरक्षा अधिकृतदेखि विदेशी निकायका उच्च ओहदाका व्यक्तिसम्मले सो हत्याकाण्डमा वैदेशिक शक्तिको संलग्नताका बारेमा प्रश्न उठाइरहेका छन्। यस स्थितिमा सो घटनाका एक प्रत्यक्षदर्शी पारस ती शक्तिका लागि सदैव खतराको सूचीमा हुनु स्वाभाविक हो। २०५८ जेठ १९ को दरबार हत्याकाण्ड, घरेलु छानबिन समितिले भनेझैँ, तत्कालीन युवराज दीपेन्द्रले नभएर वैदेशिक शक्तिको तालिमप्राप्त दस्तामार्फत भारतको भूराजनीतिक रणनीति अनुरुप गराइएको विश्लेषकहरूको ठहर छ। त्यसका प्रत्यक्षदर्शी पारस र घटनापछिका प्रत्यक्ष लाभान्वित ज्ञानेन्द्र त्यस षड्यन्त्रमा निरपेक्ष वा बेखबर थिए भन्न सकिँदैन। दरबार हत्याकाण्डभित्रको षड्यन्त्रबारे जानकार भएकैले पनि पारस निशानामा रहेका हुन सक्छन्।
'नयाँ राजपरिवार' का गतिविधिले पनि यो शङ्कामा बल पुर्याएका छन्। २०५८ जेठ २२ गते बिहान ३ः४५ बजे मृत घोषणा गरिएका दीपे न्द्रको शव छाउनीको सैनिक अस्पतालमा राखिएको थियो र सबैलाई अन्तिम श्रद्धाञ्जलीका लागि उर्दी जारी गरिएको थियो, तर राजपरिवारका कुनै पनि सदस्य त्यहाँ पुगेनन्। सोही दिन दिउँसो ज्ञानेन्द्रले राज्यारोहण गरे। ज्ञानेन्द्र नारायणहिटी रहुन्जेल शोकको भावभङ्गीमा प्रस्तुत भए पनि सो रात बिताउन निर्मल निवास पुगे, जहाँ उत्सवको माहौल सुरु भैसकेको थियो। दरबार हत्याकाण्डलगत्तै पत्रकार सम्मेलन गरेर हत्यारा दीपेन्द्र हुन् भनी पहिलो घोषणा गर्ने डा. राजीव शाहीप्रति तत्कालीन राजा ज्ञानेन्द्रले देखाएको सद्भावले पनि आशङ्का थपेको छ। राजीव शाहज्यादी पूजाका श्रीमान् त हुन् नै, वीरेन्द्र सैनिक अस्पतालका डाक्टर पनि हुन्, जसलाई अन्य सैनिकसरह नियम लाग्छ, तर २०५८ असो जमा 'एट्याचमेन्ट' का लागि लन्डन पुगेका उनी बिनाखबर एक वर्ष त्यहीँ बस्दा पनि कुनै कारबाही भएन। बिनाजानकारी एक महीना मात्रै हराए पनि सैनिक ऐनअनुसार जागिर जाने मात्र होइन, उनीमाथि कोर्ट मार्सल नै हुनुपर्ने हो, तर २०५९ कात्तिकमा एमडी अध्ययनका लागि भन्दै उनले बेलायतबाटै तीन वर्षको बिदा मागे, यो विषय ज्ञानेन्द्रकहाँ 'जाहेर' भयो र उनले 'मिलाइदिनू' भन्ने आदेश दिए। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, फर्केर आफ्नो पदमा बहाल भएका उनी सैनिक अस्पतालमै कार्यरत छन्। उनीप्रतिको यो सदाशय उनले पत्रकार सम्मेलन गरी हत्याकाण्डमा ज्ञानेन्द्र र उनकै परिवारको संलग्नता हुन सक्ने भनी आम जनमानसले गरेको आशङ्का न्यून गरेको प्रतिफलस्वरुप हो कि भन्ने प्रश्न उब्जिएको छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा पूर्वरथी विवेककुमार शाहले दरबारको सैनिक सचिव पदबाट आफ्नो राजीनामा मागिनुमा वैदेशिक शक्तिको हात रहेको उल्लेख आफ्नो पुस्तक मैले देखेको दरबारमा गरेका छन्। कोसोभोस्थित राष्ट्रसङ्घीय मिसनमा कार्यरत नेपाल प्रहरीका एक अधिकृतलाई त्यहीँ कार्यरत भारतीय सिनियर आईपीएसले सुनाएको विवरण उद्धृत गर्दै उनले आफूलाई दरबारबाट हटाइनुमा भारत जिम्मेवार रहेको सङ्केत गरेका छन्। खास गरी नेपालका माओवादीलाई भारतले तालिम दिएकाबारे आफूले जानकारी पाएकाले भारतीय दबावमा सैनिक सचिवबाट हटाइएको उनको बुझाइ छ। यस हिसाबले तत्कालीन राजा ज्ञानेन्द्रले दरबारमा कार्यरत कर्मचारीलाई राख्ने वा नराख्ने निर्णयमा पनि स्वविवेक प्रयोग गर्न नसकेको र उनी पनि भारतबाट प्रभावित हुने गरेको देखिन्छ।
दरबार हत्याकाण्डबारेकै एउटा प्रतिवेदनमा भनिएको छ, 'मारिएका राजा वीरेन्द्र शाह कडा राष्ट्रवादी थिए। उनी माओवादी विद्रोहविरूद्ध सेना परिचालन गर्न चाहँदैनथे। वार्ताद्वारा सबै समस्याको हल गर्न चाहन्थे, भलै राजतन्त्रको अन्त्य नै किन नहोस्। सेना परिचालन गर्दा नेपालको राजनैतिक र सुरक्षा अवस्था अस्तव्यस्त हुन जाने र त्यसले नेपालको स्वतन्त्रतामाथि नै गम्भीर आँच पुग्ने राजा वीरेन्द्रको मत थियो। उनी ने पाललाई सिक्किम बन्न दिने पक्षमा थिएनन्।'
बेइजिङस्थित इन्स्टिच्युट अफ एसियन प्यासिफिक स्टडिजका प्राध्यापक वाङ होङ्वेईले, जो चीनका नेपाल नीति निर्मातामध्ये एक मानिन्छन्, पनि हत्यामा दीपेन्द्रको संलग्नताको कुरा हावादारी भएको बताएका छन्। होङ्वेईको भनाइ छ, 'राजनीतिक षड्यन्त्रअन्तर्गत भएको हत्याकाण्ड थियो त्यो, जसलाई पुष्टि गर्ने प्रामाणिक आधारहरू नियतवश मेटाइएका छन्। आरोप तत्कालीन युवराजाधिराज दीपेन्द्रमाथि लगाइएको छ, तर त्यो पत्यारलाग्दो छैन।'
त्यो हत्याकाण्ड राजनीतिक षड्यन्त्र थियो भने त्यसमा कसको हात थियो त ? उत्तर स्वाभाविक छ- देशभित्र र बाहिरका विभिन्न तत्त्वहरूको। राजदरबारका पूर्वसैनिकसचिव विवेककुमार शाह पनि दरबार हत्याकाण्डलाई राजनीतिक षड्यन्त्रको उपज मान्छन्। त्यस्तो षड्यन्त्र गर्नमा स्वदेशीसहित खास गरी दक्षिणी छिमेकी भारतीय एजेन्सीहरूसमेत संलग्न रहेको शाहले इशारा गरेका छन्। शाहले आफ्नो पुस्तकमा लेखेका छन्, 'त्यस बेला तत्कालीन राजा वीरेन्द्र बोआओ कन्फरेन्समा भाग लिएर भर्खरै चीनबाट फर्केका थिए। र, केही समयपछि नै कुनै कदम चाल्दै छन् भन्ने चर्चा थियो। कतै चिनियाँहरूकै साँठगाँठमा त्यस्तो कदम चाल्न लागेको हो कि भन्ने आशङ्का त्यस्तो कदम नचाहने तत्त्वह रूलाई भएको हुनुपर्छ।'विदेशी एजेन्सीको संलग्नताको चर्चा र नेपालमा चिनियाँ उपस्थिति नचाहने तत्त्वहरूले त्यस्तो गरेको हुनुपर्छ भन्ने विश्लेषणबाट औंला भारततर्फ तेर्सिन्छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले त त्यति बेला नामै लिएर दरबार हत्याकाण्डमा भारतको हात रहेको बताएका थिए। राजा वीरेन्द्र राष्ट्रवादी भएको र चीन लगायत मुलुकसँग हतियार किन्न लागेको, जनयुद्धको शान्तिपूर्ण अवतरणका लागि माओवादीसँग वार्ता गर्न लागेको जस्ता कारणले भारतीय पक्षले उनको हत्या गरेको दाहालको भनाइ छ।
पूर्वसैनिकसचिव शाहले पुस्तकमार्फत दरबार हत्याकाण्डका अन्य केही कारण पनि खोतलेका छन्, जसले पनि दक्षिणी छिमेकीतिरै इशारा गरे का छन्। जस्तो- त्यस बेला नेपाली सेनाका लागि हेक्लर एन्ड कोक कम्पनीको अत्याधुनिक हतियार 'जी-३६' राइफल किन्ने प्रक्रिया अगाडि बढेको थियो। तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्र दुवैलाई मन परेको सो हतियार नेपालमै एसेम्बल गर्ने र दक्षिण एसियाली मुलुकमा समेत बेच्ने योजना थियो। यो कुरा आफ्नै मुलुकमा बनेको कम गुणस्तरको इन्सास राइफल बेच्ने योजना बुनिरहेको भारतलाई मन परिरहेको थिएन। भारतले ७० प्रतिशतसम्म अनुदान दिने भन्दै इन्सासका पक्षमा लबिङ गर्न पूर्वप्रधानमन्त्री इन्दरकुमार गुजराललाई नेपाल नै पठाएर तत्कालीन राजा, प्रधानमन्त्रीलाई भेट्न लगाएको थियो।
स्मरणीय छ, २०४५ सालमा नेपालले चीनबाट केही 'एन्टी-एयरक्राफ्ट' हतियार किन्दा भारतले आर्थिक नाकाबन्दी नै लगाएको थियो। अकार् तर्फ 'जी-३६' खरीद प्रक्रियामै रहेका बेला नागरिकता प्राप्तिका थुप्रै सहज प्रावधान राखेर संसद्ले पारित गरी लालमोहरका लागि पठाएको विधेयक तत्कालीन राजा वीरेन्द्रले रायका लागि सर्वोच्च अदालतमा पठाइदिएका थिए। र, सर्वोच्चले विधेयक संविधानसम्मत नभएको भन्दै खारेज गरेको थियो। जबकि, अनौपचारिक भ्रमणकै क्रममा आएका तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीका सुरक्षा सल्लाहकार व्रजेश मिश्रले २०५७ जेठ २५ मा राजा वीरेन्द्रसँग भेटी नागरिकतासम्बन्धी विधेयकमा लालमोहर लगाइदिन आग्रह गरेका थिए। सीमावर्ती क्षे त्रका भारतीयलाई नागरिकता दिने निहित उद्देश्य अनुरुप ल्याइएको र त्यस बेला तुहिएको योजना पछि संविधानसभाको पूर्वसन्ध्यामा केही मधेसकेन्दि्रत दलको दबाबमा नागरिकता टोली बनाई कार्यान्वयन गरियो।
पूर्वसैनिकसचिव शाहको बुझाइमा, 'हतियारको राजनीति पनि दरबार हत्याकाण्डभित्र लुकेको एउटा प्रमुख कारण हुन सक्छ। नेपालमा आफ्नो मात्र एकछत्र प्रभाव कायम हुनुपर्छ भन्ने भारतको सधैँको चाहना हो। त्यसमा बाधा पर्दा ऊ क्रुद्ध हुने मात्र होइन, जस्तोसुकै कदम उठाउन पनि पछि पर्दैन।'
त्यस बेला तत्कालीन राजा वीरेन्द्रले आफ्ना भाइ पूर्वअधिराजकुमार धीरेन्द्र शाहलाई माओवादीसँग वार्ताका लागि खटाएका थिए। उनले तत्कालीन शाही नेपाली सेनाका महासेनानी दिलीप रायमाझीलाई, जो पछि सेनाको गुप्तर निकाय 'डीएमआई' का प्रमुखसमेत भए र सहायक रथीबाट अवकाश पाए, समेत खटाएका थिए र माओवादीसँग सहमति भए गोलमेच सम्मेलन गरी ऊसहितको राष्ट्रिय सरकार बनाउन तथा आफ्नो भूमिका सीमित गर्न, आफू अझै बढी आलङ्कारिक राजामा सीमित रहन सहमति जनाएका थिए।
तत्कालीन राजाको यस्तो कदम भारतले रूचाएको थिएन। २००७ सालदेखिकै महत्वपूर्ण राजनैतिक घटनाक्रम केलाउने हो भने भारत नेपालमा कुनै पनि समस्याको घरेलु समाधानविरूद्ध देखिन्छ। हरेक राजनीतिक घटनाक्रममा आफ्नो 'भूमिका र सल्लाह' निर्णायक हुनुपर्छ भन्ने उसको मान्यता रहँदै आएको छ।
भारतीय पक्षले दरबार हत्याकाण्डलगत्तै दाउदसँग पारस शाहको साँठगाँठ रहेको लाञ्छना लगाउन शुरु गरेको हो। भारतीय सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट कर्णेल ठाकुर कुलदीप एस लुद्राले, जो नेपाल मामिला खास गरी उनकै दाबी अनुसार आईएसआई र दाउदको निर्देशनमा नेपाली भूमिबाट हुने भारतविरोधी क्रियाकलापमाथि कलम चलाउँछन्, निकै अघिदेखि पारसलाई दाउदसँग जोड्ने काम गर्दै आएका छन्। लुद्राले 'ने पाल एट क्रसरोडः थ्रेटनिङ इन्डियन इन्ट्रेस्ट' शीर्षकमा इन्डियन स्ट्राटिजिक रिभ्युमा शृङ्खलाबद्ध रुपमा धेरै लामा लेख लेखेका छन्। तिनमा नेपालमाथि धेरै हदसम्म हावादारी आरोप लगाइएका छन्। उनले नै तथाकथित एउटा गुप्तचर सूत्रको हवाला दिँदै पारस शाह दाउदका एक प्रमुख सहयोगी भएको र दरबार हत्याकाण्डमा दाउदको संलग्नता रहेको जस्तो कपोलकल्पित कुरा लेखेका छन्। प्रोपोगान्डा आफैंमा गुप्तचरीको एक अंश हो। शङ्काको सुई अन्यत्र मोड्न र आफूले गर्ने सम्भावित कारबाही अरूले गरेको भान परोस् भनी पहिल्यै अनर्गल हल्ला फिँजाउनु गुप्तचरीको एउटा पाटो नै हो।
एक प्रतिवेदनमा लुद्राले लेखेका छन्, 'दरबार हत्याकाण्डको गुरुयोजना पारसले तयार गरेका थिए। र, त्यसमा सेनाका तत्कालीन प्रमुख लगायतका उच्च सुरक्षा अधिकारीहरूले सघाएका थिए। पूर्वयुवराज दीपेन्द्रको त्यसमा कुनै प्रकारको संलग्नता थिएन। दीपेन्द्रलाई त झन् लखे टीलखेटी मारिएको थियो। दीपेन्द्र र देवयानीको प्रेमप्रसङ्ग पनि पारसले नै बुनेको काल्पनिक कथा मात्र थियो। अहिले नारायणहिटीमाथि पारसको पूर्ण नियन्त्रण रहेको छ। पाकिस्तान सरकार र आईएसआईको आशीर्वादप्राप्त कुख्यात तस्कर दाउद इब्राहिम र पारसबीच निकटको सम्बन्धकै कारण आईएसआईले नेपालको राजतन्त्रसम्म दह्रो पकड बनाइसकेको छ।'
उपर्युक्त प्रोपोगान्डाबाट पारसविरूद्धको सम्भावित कारबाहीका लागि पहिलेदेखि नै वातावरण बनाइएको देखिन्छ। राजतन्त्रको समाप्तिपछि नागरिकमा झरेका पारसविरूद्ध एकपछि अर्को आरोप लगाइनु, प्रोपोगान्डा तीव्र पारिनुले स्वाभाविक आशङ्का उब्जाएको छ।
जमिम हत्यासम्बन्धी प्रतिवेदनले युनुस जेल गएकाले नै जमिममाथि पहिले आक्रमण भएको तथ्य बाहिर ल्याएको छ। जमिमको हत्यापछि युनुसमाथि आक्रमण भएको हो। र, युनुसमाथि गोली प्रहारसम्बन्धी छानबीन प्रतिवेदनले अर्को खुलासा गरेको छ- उनी जेल जानुअघि वा गएलगत्तै पारसमाथि आक्रमणको योजना बुनिएको थियो। यस हिसाबले जमिमको हकमा सहजता नभएको भए उनको स्थानमा पारस हुन्थे। जमिम हत्यामा पक्राउ परेका केही अभियुक्तका अनुसार हत्याराले भारतबाट तीन-चार जनाको हत्याका लागि सुपारी लिएर आएको बताउने गरेका थिए। अझ युनुस अन्सारीले वीरगन्जको अल्ताफ भन्ने व्यक्ति २०६६ मंसिर २० मा अन्य सात-आठ जनासहित आफूलाई खत्तम गर्न आएको कुरा सुनेको र अल्ताफ वीरगन्जस्थित भारतीय वाणिज्य दूतावासमा पटकपटक जाने गरेको बताएका छन्। जमिम मारिएका छन्, युनुसमाथिको आक्रमण असफल भएको छ। बाँकी सुपारी कसका लागि थिए ? एउटा पारस अरू ?
(कान्तिपुर दैनिकमा कार्यरत पत्रकार सरोजराज अधिकारीको आज शुक्रबार सार्वजनिक हुन लागेको नयाँ कृति 'चक्रव्यूहमा चन्द्रसूर्य’ बाट उद्धरण गरिएका केही महत्त्वपूर्ण परिच्छेदहरूको सम्पादित अंश)
No comments:
Post a Comment