ऋतिक रोशन काण्डपछि म भित्र विद्रोह जन्मिएको हो
- डा. सिके राउत– संयोजक, स्वतन्त्र मधेस गठबन्धन

संविधान निर्माणका विषयमा नेपाली कंग्रेस, नेकपा एमाले र प्रतिपक्षीदलहरूबीचमा रस्साकस्सी चलिरहेकै बेला एमाले अध्यक्ष केपी ओलीले भने ‘पिके र सिकेको भर पर्नु हुन्न ।’ उनले पिके भनेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र सिके भनेर डा. सिके राउतलाई संकेत गरेर टिप्पणी गरेका थिए । एकतिर देशका नयाँ संविधान कस्तो हुने भन्ने विषयमा गरमागरमी चलिरहेका बेला अर्को बहसले बेलाबेलामा घरेलु र अन्तर्राष्ट्रिय शक्ति केन्द्रको ध्यान आकृष्ट गरेको छ । यो नयाँ बहस अधिकांशका लागि प्रिय त देखिँदैन । तर, नेपाली राजनीतिमा यसको प्रवेश भने भइसकेको छ । सत्तामा बस्नेहरूलाई प्रतिपक्षीबाट उठाइएका मागहरूलाई हल्का लिनु खानदानी रोगजस्तै भइसकेको छ । हिजो माओवादीका मागलाई रद्दीको टोकरीमा मिल्काउँदा मुलुकले रक्तपातपूर्ण द्वन्द्व खेप्नुपर्यो । पछिल्लो समयमा मधेसलाई अलग देशको रूपमा छुट्याउन पाउने ‘छुट्टिन पाउने’ अधिकार डा. सिके राउतले खोजेका छन् । उनी यो अभियानका क्रममा दर्जनौँपटक पक्राउमा पर्ने र रिहा हुने क्रम जारी छ ।
उनको खास नाम चन्द्रकान्त राउत हो । सप्तरीको महादेवा गाविसमा जन्मिएका राउत पुल्चोक क्याम्पसबाट ‘डिम्पलोमा इन इन्जिनियरिङ र व्याचलर इन इलेकट्रोनिक इन्जिनियरिङ’ गरेका हुन् । त्यसपछि जापान सरकारको छात्रवृत्ति पाएर राउतले जापानको टोकियो विश्वविद्धालयबाट इनफरेमसन साइन्स एन्ड टेक्नोलोजीमा मास्टर गरेका छन् । छात्रवृत्तिमै बेलायतको क्याम्ब्रिज विश्वविद्धालयबाट इन्फरमेसन इन्जिनियरिङमा पिएचडी गरेका उनले अमेरिकाको बिबिएन टेक्नोलोजिमा २ वर्ष जति वैज्ञानिकको काम गरे । त्यसपछि नेपाल फर्केर आफ्ना स्वतन्त्र मधेसका अभियानहरू सञ्चालन गर्दै आएका छन् । खासमा उनी किन यति डरलाग्दो माग राखेर आन्दोलन गर्न लागेका छन् त, यस विषयमा उनका विचार बुझ्ने ध्ययले कुराकानी गरेका थियौ । राउतको बिचार यस्तो पो रहेछ ।
'तपाईंको स्वतन्त्र मधेसको अभियान' अखण्ड नेपाललाई तोडने कार्यको रूपमा हेरिएको छ, यो विखण्डनकारी माग किन ?
अब यसको चाहिँ लामै व्याख्या र विश्लेषण छ । यो कसैले रातारात सोचेर निर्धारण गर्ने कुरै होइन । मेरो पनि जीवनमा यस्ता धेरै घटना घटेका छन्, जसले मलाई यतातिर उत्प्रेरित गर्यो । तपाईंलाई पनि थाहै होला, केही वर्ष अगाडि ऋतिक रोशन काण्ड भएको थियो । त्यति बेला म काठमाडौंमा इन्जिनियरिङ पढिरहेको थिए । त्यो घटनाले मलाई कतै न कतै यतातिर लाग्न प्रेरित गर्यो, झकझकायो । त्यसपछि मूल रूपमा गहन अध्ययन र अनुसन्धान गरेर के गर्न सकिन्छ, निकासहरू के छन् भनेर त्यति बेलादेखि सोच्न थालियो । विकल्पको रूपमा यो सोच मेरो दिमागमा आयो । अध्ययन गर्दै जाँदा मधेसीहरूले बारम्बार आन्दोलन, बलिदानी, संघर्ष गरिराखेका छन्, त्यही पनि जहिले पनि अधिकारविहीन दासको रूपमा बस्न बाध्य भएका छन् । आज उनीहरू कमैया, कमलारी बन्न बाध्य बनाइए ।
आखिर बारम्बार बलिदानी संघर्ष गर्दा अधिकार किन नपाएको त हामीले ? किन अधिकार पाइराखेका छैनौँ भन्दाखेरि मधेसमा जुन औपनिवेशिक शासन छ, त्यसको सही समाधान भनेको स्वतन्त्र मधेस हो भन्ने निष्कर्षचाहिँ हामीले मधेस आन्दोलनको क्रममा पायौँ । त्यसपछि नै स्वतन्त्र मधेसको माग खुला रूपले देखिएको हो । त्यति बेला सँगठनको रूपमा एलाइन्स फर राइटस अफ मधेस सँगठन भन्ने थियो । योचाहिँ पहिलो संविधानसभा अगाडिको कुरा हो । मान्छेले यो अहिलेको कुरा भन्ने ठान्छन् । त्यो होइन । पहिला संविधानसभा हुनुभन्दा अगाडिदेखि नै यो मागबाहिर आइसकेको थियो ।
तपाईंमा स्वतन्त्र मधेसको विचार कहाँबाट आयो ?
मैले अघी पनि भने ‘ऋतिक रोशन’ काण्डभन्दा अगाडि म एकदमै परम्परागत राष्ट्रवादी थिए । नेपालीमा जतिखेर पनि बोल्ने, नेपाली राष्ट्रमाथि गौरव गर्ने, नेपालका सहिदहरू माथि कविता लेख्ने गर्दथे । त्यो भनेको नेपाल राष्ट्रसँग धेरै ठूलो लगाब राख्नु थियो । त्यति बेलाचाहिँ जब ऋतिक रोशन काण्ड घटाएर एकाएक आएर तिमी नेपाली होइनौँ भनेर अनुभूति गराइयो, असुरक्षित अनुभूति गराइयो । त्यति बेला पूरै काठमाडौंमा मधेसीलाई खोजीखोजी पिट्ने, मधेसीको पसलमाथि आगो लगाउने, मधेसीहरूको पार्टी कार्यालयमा आगो लगाउने काम भइरहेको थियो । त्यो एउटा एकदम ठूलो झट्काको रूपमा मेरो दिमागमा आयो । त्यसको आफै प्रत्यक्षदर्शी भए । त्यसभन्दा अगाडि मान्छेले कति सम्मान गर्थे मलाई । त्यो घटनाको क्रममा जुन प्रतिक्रिया देखियो, त्यसले मलाई निकै झकझकायो । त्यसपछि नै ममा यो विचार घनीभूत रूपमा आएको हो ।
त्यो त राज्यले निर्देशन दिएर भन्दा पनि स्वस्फुर्त रूपमा भएको चिज थियो नि ?
त्यो कतै न कतै राज्यसँग सम्बन्धित थियो । त्यति बेला नौ वाम दलको मोर्चाहरूले त्यसलाई औपचारिक रूपमै नेतृत्व गरिराखेको स्थिति थियो । मिडियाहरूले पनि साथ दिएकै थिए । राज्यले कतै न कतै प्रश्रय दिएको देखियो । त्योचाहिँ पछि गएर पनि सावित भयो । कलान्तरमा मधेस आन्दोलनभन्दा अगाडि नेपालगन्जको दंगा हुँदाखेरि राज्यका प्रहरीहरू नै दंगा फैल्याउने, मधेसीहरूलाई खोजी खोजी मार्ने, मधेसीहरूको पसलमा आगो लगाउने काममा सहयोग गरिराखेको प्रत्यक्ष देखियो । नेपालगन्जको त्यो दंगामा झन् पुष्टि भएर आयो । हामी त्यसपछि स्वतन्त्र मधेस नै चाहिन्छ भनेर ठोस निष्कर्षमा पुग्यौँ ।
मधेसीहरूले के अधिकार पाउनुपर्ने थियो, जुन पाउन सकेनन् र तपाईं स्वतन्त्र मधेसको माग गर्दै हुनुहुन्छ ?
मधेसीका अधिकारको पूर्ण रूपमा विवेचना गर्दाखेरि के पाइन्छ भने मधेसमा वास्तवमा औपनिवेशिक शासन छ ।
कसरी त्यो भन्न मिल्छ ?
शासनको एउटा प्रमुख अंग भनेकै सेना हो । मधेसमा जुन सेना छ, त्यो मधेस बाहिरबाट ल्याएर ९५ प्रतिशत सेनाको क्याम्प खडा गरिएको छ भनेपछि त्यहाँ बाहिरको सेना आएर राज्य गरिरहेको छ । त्यो एउटा प्रत्यक्ष प्रमाण हो । अर्को भन्नुहुन्छ भने आप्रवासनको समस्या । शासक वर्गका मान्छे अर्कोतिर गएर बस्नु नै कलोनाइज हो । मधेसमा त्यही भइराखेको छ । सन् १९५१ मा हेर्नुहुन्छ भने त्यहाँ ६ प्रतिशत मात्र शासक वर्गका पहाडि मान्छे गएर बसेका थिए । ५० वर्षपछि मात्र सन् २००१ मा गएर त्यो ३० प्रतिशत हुन पुग्यो । यसले तीव्र गतिमा कलोनाइज भएको देखाउँछ । त्यस्तै आर्थिक नीतिको आधारमा हेर्नुहुन्छ भनेपनि त्यहाँ जति पनि स्रोत, साधन, राजस्व लगात उठ्छ शासक वर्गका मान्छेले हसुर्छन् । त्यो सबै संकलन गरेर आफ्नो क्षेत्र पहाडतिर लग्छन् । ७५ प्रतिशतभन्दा बढी राजस्व त्यहाँबाट संकलन हुन्छ तर लगानी गर्ने बेलामा मुस्किलले १० प्रतिशत त्यहाँ लगानी हुन्छ । यो प्रत्यक्ष रूपले अपौनिवेशिक शासनको प्रमाण हो ।
सेनाको कुरा गर्नुभयो, सेनाको परमाधिपति राष्ट्रपति हुन्छ, त्यो मधेसी नै भएको कुरालाई अस्विकार गर्न मिल्छ ?
हामीले रूपमा मात्र नगएर सारमा हेर्नुपर्ने हुन्छ । सार के हो भन्दा मधेसमा भएका ९५ भन्दा बढी सेनाहरू मधेस बाहिरबाट ल्याएर राखिएको छ । त्यो नै प्रत्यक्ष प्रमाण हो भनेर हामीले भनिराखेका छौँ । एकादुई व्यक्ति प्रमुख बनाइदिँदैमा केही हुनेवाला छैन । हामीले हेर्ने सारमा हो । कसैलाई राष्ट्रपति, प्रधानमन्त्री बनाइदिँदैमा त्यो समस्याको समाधान हुँदैन । किनभने, यहाँको समस्या नै औपनिवेशिक समस्या हो । मधेसमा औपनिवेशिक शासन भएको हुनाले त्यसको एउटै मात्र समाधान हो आजादी । स्वतन्त्रता नै हो । तपाईंको हात बाँधेर कसैले तपाईंलाई यो देशको प्रमुख त नै होस भनेर हुन्छ ? सही समाधान भनेको तपाईंको हात खोलिदिने हो । त्यो नै हामी मधेसमा लागू गर्न खोजेका हौँ । खासमा यो दीर्घकालीन आन्दोलन हो ।
तपाईं पटकपटक पक्राउमा पर्नुभएको राज्यको आखामा द्रोही भएर त होला नि ?
क्षणिक रूपमा चर्चामा आउन गरिएको आन्दोलन होइन यो । यसका लागि धेरै तयारी गर्नुपर्छ । त्यही तयारीका क्रममा जहाँ हामी आफ्ना विचार राख्न थाल्यौँ, त्यहाँ धेरै नै मान्छे आउन थाले । यो विचारसित आकर्षित हुन थाले । खासमा हामीले गर्न खोजेको भनेको बौद्धिक अन्तरक्रिया नै हो । तर जहाँ हामीले २५ देखि ४० जनालाई बोलाउथ्यौँ, त्यहाँ ८०० जना मान्छे ओइरिए । त्यो त सीधै बाहिर देखिने भयो । त्यो आकर्षित भइरहेको त राज्यले देख्यो । यो आकर्षणमा अरू कारणहरू पनि छन् । जस्तै वर्तमान राजनीतिक प्रक्रियासँग जनताहरू निकै असन्तुष्ट छन् । यो पनि एउटा कारण थियो । जुन प्रकृतिले हाम्रो आन्दोलनले उचाइ लिइरहेको राज्यले देख्यो, त्यसैले राज्यले निकै खतरा महसुस गर्यो । हुन सक्छ म पक्राउ पर्नुको काराण त्यो पनि हुन सक्छ । अर्को कारण राज्यले कुनै षड्यन्त्र गर्न खोजेको हो । यसलाई समातौँ, त्यसैले यहाँ कुनै दंगा, हिंसा भड्किएला र त्यो एउटा निहुँ बनाउने बहानामा पनि यो संवेदनशील समयमा समातेर दंगा मच्चाउन खोजेको भन्ने मेरो आशंका छ । हामी अवरोध गर्न चाहँदैनौँ । संविधिान जारी भएपछि त्यसमा संघीयता सुनिश्चित हुने जुन जनताको आशा छ, त्यो पनि जनताले हेर्न पाउन्, अनि त्यसपछि मात्रै ठोस रूपमा हाम्रो आन्दोलन अगाडि बढ्न सक्छ भन्ने हाम्रो आशा भएकाले मात्रै यो वर्तमान राजनीतिक प्रक्रियामा हस्तक्षेप गर्न नखोजेको हौँ । संविधान पनि आओस्, संघीयता पनि आउँछ भनेर अवरोध नगरेका हौँ ।
तर यहीबीच यी प्रश्नहरू पनि उठिरहको छ कि तपाईंले उठाएको मागले गर्दा अहिले संघीयता भन्ने शब्द नै गौण हुन थालेको छ । सिके राउतहरू अलग देशको कुरा गरिरहँदा यसले झन् संघीयता नै गुम्ने खतरा महसुस हुँदैन ?
यो गलत बुझाइ हो । यति बेला शासक वर्ग र मधेसी नेताहरूले पनि वास्वतमा बुझेका छन्, किनकि संघीयता दिएन भने मधेसी जनता सीधै स्वतन्त्रता आन्दोलनमा लागि हाल्छ । शासक वर्गलाई पनि चेतावनीको रूपमा आइराखेको छ । तर, यसलाई गलत रूपमा व्याख्या गर्न खोजिँदै छ । तर, सही तरिकाले हेर्ने हो भने यो गलत हो ।
पछिल्लोपटक तपाईंले बाबुराम भटराईको समितिमा उपस्थित भएर जवाफ दिनुभएको खास कुरा के थियो ?
हामीले पनि चाहेका छौँ, नेपालमा संविधान जारी होस् । त्यही संविधानभित्र संवैधानिक दायराभित्र नै छुट्टिन पाउने अधिकार राज्यले जनमतसंग्रह गरेर सुनिश्चित गरिदियो भने बहुत शान्तिपूर्ण रूपमा पछि मधेसलाई या अन्य कुनै राज्यलाई छुट्टिन पर्यो भने अहिंसात्मक, लोकतान्त्रिक विधिबाट संवैधानिक प्रक्रियाबाट पनि त्यो कुरा गर्न सकिन्छ भनेरै मैले त्यो सुझाव दिएको हुँ । ताकि भोलि कुनै पनि हिंसा नभडकियोस । दंगा नफैलियोस्, मान्छे जनताले कुनै प्रताडना भोगन नपरोस् भनेर सही समाधानको रूपमा मैले संवैधानिक प्रक्रियाबाट पनि गर्न सकिन्छ भनेर मैले त्यो सुझाव दिएको हुँ ।
तपाईंले भनेजस्तै छुट्टिन पाउने अधिकारको संवैधानिक सुनिश्चितता भएका देशहरू कुनकुन छन् ?
छन्, जस्तै फ्रान्स, बेलायत, अस्ट्रियालगायतका देशको संविधानमा छुट्टिन पाउने अधिकार छ ।
तपाईंले यी यावत कुराहरू गरिरहँदा अदालतमा चाहिँ फरक ढंगको बयान दिनुभयो भन्ने पनि छ ?
होइन, म मेरो अडानमा अडिग छु । यो कुनै बन्द कोठमा मात्र होइन, जहाँ जाँदा पनि खुलेआम त्यही कुरालाई दोहोर्याइरहेको छु । यसमा जनता दिग्भ्रमित हुने कुरा छैन् । र म तपाईंसँगको अन्तर्वार्तामा पनि फेरि दाहोर्याउन चाहान्छु कि हाम्रो अभियान भनेकै एउटा अलगै सार्वभौमसम्पन्न मधेसको आजादीका लागि हो भनेर स्पष्ट पार्न चाहन्छु ।
स्वराजको कुरा गर्नुहुन्छ, स्वराज र स्वतन्त्रतामा के फरक छ ?
यो हाम्रो लागी दुइवटै उस्तै सेन्समा प्रयोग गरिराखेका छौँ । स्वराज, स्वतन्त्रता र आजादी पनि । त्यो भनेकै पूर्णत सार्वभौम सत्ता सम्पन्न अलग देशको रूपमा स्थापित गर्ने भनेर यी शब्दको प्रयोग गरिराखेका छौँ ।
नेपाली राजनीतिमा विदेशी प्रभावको कुरा चलिरहन्छ, घरेलु नियन्त्रणमा नेपाली राजनीति छैन भन्ने छ, तपाईंलाई पनि कतै अमेरिकी, भारतीय, युरोपियन निर्देशित मान्छे हो भनेर शंका गर्न मिल्छ कि मिल्दैन ?
कुनै पनि कामहरू गर्नुभयो भने त्यसमा अनेकौं किसिमका आरोपहरू लाग्ने गर्छन् । यो कुनै ठूलो कुरा होइन । तर, यहाँ भन्नुपर्ने कुरा के हो भने यदि आरोप लगाइन्छ भने राज्यले त्यसलाई सावित गर्न सक्नुपर्यो । राज्यसँग त्यति संशोधन छ, लाखौँलाख जनशक्ति, हजारौँ जासुस् छन् । यिनीहरूले आफैले सकेन भनेपछि अरू देशको सहयोग लिएर त्यो कुरा सावित गर्न सक्छ । र, यो आरोपमा अलिकति पनि सत्यता भएको भए यो कुरा उनीहरूले अहिलेसम्म सावित गरिसकेका हुनेथिए र मूलधारका छापाहरूमा मुख्य पेजमै सिके राउतको विषयमा अहिलेसम्म आइसक्थ्यो । त्यसका कुनै सत्यता नभएकै कारण नै अहिलेसम्म यो कुरा कतै पनि आइराखेको छैन् । म मधेसीबाट निर्देशित मान्छे हुँ ।
नेपाली राजनीतिमा विदेशीहरूको घुसपैठ भइरहन्छ, तपाईंलाई के लाग्छ ?
यसमा मधेसी जनतालाई मात्र होइन, पूरा नेपाली जनतालाई के भन्न चाहन्छु भन कुनै पनि राजनीतिक धार जनताले आफै निर्धारण गर्नुपर्छ । जनता आफै सशक्त हुनुपर्छ । कसैको निर्देश मान्ने होइन । र, आफै स्वालम्बी, आत्मनिर्भर बनेर हरेक निर्णय लिन सक्ने हुनुपर्छ भनेर म सबैलाई भन्न चाहान्छु । र, नेपालमा हस्तक्षेप एकअर्कामा मेलमिलाप नहुनाले, समग्र जनताभन्दा पनि व्यक्तिगत स्वार्थ, पार्टीगत स्वार्थमा लाग्नाले नै विदेशीहरूलाई हस्तक्षेप गर्ने मौका मिलेको हो कि भन्ने हामीलाई लाग्छ ।
मधेसी नेतृत्वबाट पनि तपाईंलाई उग्रवादी अतिवादीको आरोप आउने गर्छ, तपाईंको मधेसी नेतृत्वसँग संवाद छ कि छैन ?
हामीले हरेकसँग राम्रै सम्बन्ध बनाउन खोजेका छौ । हरेक दिन वारम्वार भेटेर पनि उनीहरूसँग संवादको क्रम जहिले पनि जारी राख्ने गरेका छौ । हाम्रो संवाद हाम्रो एजेण्डामाथि समर्थन खोज्नका लागि होइनकि संवाद जहिले पनि खुला राख्नुपर्छ भन्ने मान्यता राखेर सबै मधेसी पार्टीका अध्यक्षहरूलाई भेट्ने गरेका छौ । हामी सबैको अन्तिम उद्देश्य मधेसको मुक्ति नै खोज्ने हो त्यो अर्थमा एक अर्कामा संवाद भइरहन्छ ।
अहिलेकै अबस्थामा कुनै खालको जस्तै संसदीय या अरू कुनै चुनाव भयो भने तपाइहरू भाग लिनुहुनछ ?
हामी भाग लिदैनौ ।
अहिलेको मधेसवादी दलहरूलाई तपाईं सहयोगी मान्ने कि प्रतिपक्षी मान्ने ?
हामी कतै न कतै उनीहरूलाई कम्पिलिमेन्ट्री शक्तिका रूपमा मान्छौ । किनभने उनीहरू पनि कतै न कतै जननिर्वाचित प्रतिनिधीहरू हुन् । जनताले निर्वाचित गरेका प्रतिनिधीहरू हुन् । त्यही भएर कम्पीलीमेन्ट्री फोर्सका रुमा लिन्छौ । खाली मागहरू फरक हुन् । उनीहरूको मागको हद भन्दा हाम्रो मागको हद पर भएको हुन सक्छ ।
माघ आठलाई मध्यनजर गरेर तपाईंले आफ्नो अभियानलाई स्थगित गर्नुभयो नि किन ?
किनभने यहाँ राज्यले दंगा फैलाएर दोष हामीमाथि लगाउने षडयन्त्र देखिदैछ । माघ ८ को संक्रमणकालीन स्थितिमा कुनै दंगा फैलाइदिने, हाम्रो आन्दोलनको कार्यक्रममा पनि कुनै हिसां भडकाइदिने, अनि त्यो वहानामा ठुलो संख्यामा सेना र सशस्त्र प्रहरी लगाएर हाम्रो शान्तिपूर्ण आन्दोलनमा दमनगर्ने नीति राज्यको देखियो । त्यही भएर हामीचाहि हाम्रो आन्दोलन दीर्घकालिन हो तत्काल संविधान ल्याउन चाहान्छन भने वहानाको अबसर नदिउ भनेर हामी चाहि अहिले तत्कालका लागि आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेका हौ ।
तपाईंहरूको सँगठनको कुनै स्वरूप छ कि छैन ?
हाम्रो सँगठनको स्वरूप बन्दैछ । अहिले हामी स्वतन्त्र मधेस गठबन्धनको रूपमा क्रियाशिल छौ । यसमा जुनसुकै पार्टीका मान्छेहरू जोडिन सक्छन् । तर त्यसका तीन आधारहरू छन् । स्वतन्त्र मधेस, लोकतान्त्रिक ब्यवस्था र तेस्रो शान्तिपूर्ण एवं अहिंसात्मक बाटो । यो तीनवटा मुल् मर्म आधार स्तम्भमा आस्था राख्ने कोहि पनि व्यक्ति यसमा जोडिन सक्छ । अहिलेसम्म हामी संक्रमणकालीन अबस्थामा भएका कारण यकिन आंकडा नभएपनि हाम्रा कार्यक्रमहरूमा निकै नै उत्साह जनक सहभागीता देखिएको छ । दशौ हजार मान्छेहरू अभियनसँग जोडिइरहेका छन् । सँगठन २० वटा जिल्लामा रहेको छ ।
तपाईंहरूले नेपालको कति भूभागलाई मधेस भन्नुभएको छ ?
चुरेसहित त्यो भन्दा दक्षिणतिरका भूभागलाई हामीले मधेस अन्तर्गत राखेका छौ ।
अब बन्ने संविधानमा तपाईंले राखेको छुटिन पाउने अधिकारको सुनिश्चित भयो भने के गर्नुहुन्छ ?
त्यो आत्मनिर्णयको अधिकार पनि कुन हदसम्मको भन्ने कुरा आउंछ । छुटिन पाउने अधिकार रहने कि नरहने भन्ने हो तर हामीले खोजेको संविधानभित्र आओस भन्ने हाम्रो चाहाना हो ।
तपाइको मागसँग मधेसका जनता सहमत हुन्छन भन्ने आधार के ?
त्यो त जनतालाई अबसर दिुनपर्यो नि । जनमतसँग्रह गराउनुपर्यो अनि थाहा हुन्छ मधेसी जनता सहमत छ कि छैन भनेर ।
मधेसमा पनि पहाडियाको बाहुल्यता भएका ठाउँहरू पनि छन नि ?
अब म तिनीहरूलाई पहाडिया भन्दिन । तिनीहरू पनि मधेसी भइसके भनेर बुझ्नुपर्छ । बढिमा तिनीहरूलाई पहाडी मुलका भन्न मिल्छ । र उनीहरूले पनि स्वतन्त्र मधेसको मागमा जसरी हिजो बेलायतबाट गएका अंग्रेजहरूले भारतको स्वतन्त्रता आन्दोलनमा सघाए त्यसैगरि स्वतन्त्र मधेस आन्दोलनमा सघाउनुपर्छ ।
तपाईंको अभियानका कारण जातिय र क्षेत्रिय युद्ध चर्कियो भने तपाईं जवाफदेहि हुने कि नहुने ?
त्यसमा हामी सावधान छौ । त्यही भएरु हामीले वारम्वार भनिरहेका छौ यो मधेसी र पहाडिया बीचको लडाइको कुरै होइन । मधेसलाई औपनिवेशिक साम्राज्यबाट मुक्ति दिलाउने अभियान हो । नेपाली साम्राज्यबाट अलग गराउने अभियान हो ।
हालकै राज्यसत्तामा आमुल परिवर्तन गरेर मधेसको आत्मसम्मान बढाउन सकिदैन ?
यहाँ औपनिवेशिक शासन छ । जसरी भारतमा बेलायतको शासन थियो त्यसैगरि मधेसका नेपाली साम्राज्यको शासन छ , त्यसको एउटामात्र समाधान भनेको अलग मधेस नै हो ।
त्यसको ऐतिहासिक आधारहरू के के छन् ?
ऐतिहासिक आधारहरू पनि छन् । हाम्रा आफ्नै राजाहरू हुने गर्थे पहिला मधेसमा । गोर्खालीहरू आउनुभन्दा अगाडि सेन बंशका राजाहरू आफ्नै राज्य चलाएर बसेका थिए । त्यो पनि एउटा ऐतिहासिक आधार हो । अर्को गोर्खालीहरूले लिदा पनि सन १८१६ र सन १८६० को सन्धीमार्फत त्यो मधेसको भूभाग नेपालको राजालाई दिएको हो । जसमा केही शर्तहरू पनि गाभिएका थिए । १८१६ मा कोशि देखि राप्तीसम्मको भूभाग नेपालको राजालाई दिदाखेरि लेखिएको छ, मधेसीहरू माथि कुनै किसिमको दमन, उनीहरूको अधिकारको हनन गरिनेछैन । तर त्यो कार्यान्वयन भएन । त्यसकारण हामी सन्धि खारेज हुन्छ । त्यो शर्त पालना नभएपछि सन्धि स्वत खारेज हनु हो । र सन्धि खारेज हुनु भनेको त्यो भूमि स्वतन्त्र हुनु हो भनेर हामीले भन्ने गरेका छौ ।
तपाईंहरूको आन्दोलन कति लामो समयसम्म चल्नेछ ?
यो दीर्घकालिन आन्दोलन हो । अहिलेको योजनानुसार ८ देखि १० वर्ष तयारी अबधि नै हो । जनशक्ति तयार गर्ने, नेतृत्व विकासको प्रशिक्षण, त्यसपछि आन्दोलनको चरण आउँछ ।
तपाईंले भनेको माग पुरा नभएसम्म यो मुलुकको कानुनलाई मान्नुहुन्छ कि हुन्न ?
देशमा वसेपछि त मान्नुपर्ने हुन्छ । भारतीयहरू पनि अंग्रेजको शासनमा वस्दा कानुन त मान्थे । त्यस्तै हामीले पनि मान्नुपर्ने हुन्छ । अहिले हामीले वाक स्वतन्त्रता र शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकार अन्तर्गत नै हाम्रा अभियानहरू सञ्चालन गरिरहेका छौ । नेपाली साम्राज्यको एउटा अंग मधेस भएकाले हामीले नेपालको कानुन मान्नु एउटा वाध्यता पनि हो ।
अहिलेका प्रमुख दलका केही शीर्ष नेताहरू जस्तै शुसिल कोइराला, केपी ओली पनि मधेसकै हुन, उनीहरू मधेसी नहुने तपाईंचाहि हुने आधार के नि ?
त्यो त जनताले निर्धारण गने कुरा हो । त्यही भएर जनमतसँग्रहमा जाउ भनेर हामीले भनेका छौ ।
तपाईंले मागेको जनमतसँग्रहमा जनताले अलग मधेसको विपक्षमा मतदान गरे भने के गर्नुहुन्छ ?
त्यो जनमतसँग्रहको परिणाम विपक्षमा आयो भने पनि त्यसलाई हामी स्विकार गर्छौं । र त्यसपछि अझै मेहनेत गर्छौं र जनतासमक्ष स्वतन्त्र मधेसको मागको औचित्यको विषयमा अझ बुझाउन हामी लागी पर्छौं ।
No comments:
Post a Comment