Sunday, October 28, 2012

जासुस नभएको सेना आँखा र कान नभएको व्यक्ति जस्तै हो

आफ्नो सत्रुलाई चिन र आफुलाई चिनेर लडाइ गर्‍यौ  भने सैकडौं लडाई जित्न सक्छौं । सुनचुको विश्व प्रसिद्ध युद्धकला लेखक जनरल ताओ हान जाङ उल्था युआन सिवीङ । यो युद्धकला २४ सय वर्ष अघि लेखिएको हो । यो कलाले आजसम्मको युद्धमा सहयोग पुराएको छ । माओले पनि यसै कला उपयोग गरे ।

१) कुन सरकारसंग नैतिक प्रभाव छ । कुन सेनापति बढी समर्थवान छ । कुन सैनिकले प्रकृति र रणभूमीको बढी फाइदा लिन सक्छ, कस्तो किसिमको नियम र आदेशहरु बढी राम्रोसंग पालना हुन सक्छ र कुन फौज बढी बलियो छ । आदि कुराहरुमा पुराहोस् पुराएरमात्र लडाइमा होमिनुपर्छ । सत्रुलाई लोभ्याउ, अव्यवस्थाको स्थिति सिर्जना गर र आक्रमण गर । सत्रु एकै ठाउँमा जम्मा भएको बेला उसको विरुद्धमा तयारी गर । सत्रु बलियो भएको बेला आक्रमण गर्नु हुदैन । सत्रुको सेनापतिलाई रिस उठाउ र उसलाई अलमल पार । सत्रु सेनापति जिद्धीवाल र छिट्टै रिसाउने खालको छ भने उसलाई अपमान गरेर उत्तेजित पार । रिसाएर उत्तेजित भएका व्यक्तिहरु बुद्धि नपुर्‍याईकनै लडाइमा होमिन्छन् । आफु सानो भएको जस्तो बहाना गर र उसको घमण्डको आगोमा घिउ थप । सत्रुलाई तनावग्रस्त पार र लगातार आक्रमण गरेर उसलाई कमजोर बनाऊ । सत्रुहरुमा एकता छ भने तिनीहरुलाई टुक्राइ देउ । सत्रु जव तैयारी अवस्थामा हुदैन, त्यसैबेला उसलाई पत्तै नदिई आक्रमण गर ।
२) आवश्यक रकमको पुरा बन्दोबस्त गरेर मात्र लडाइमा अघि सर्नुपर्छ । लडाइको मुख्य उद्देश्य विजय हो । लडाइमा अलमल गरियो भने हातहतियारहरु भुत्ते हुन्छन् र मनोबल गिर्छ सहरहरुमा आक्रमण गरेपछि सैनिकहरु थाकछन् । लडाई लम्बियो भने साधनहरुको अभाव हुन थाल्छ । बुद्धि पुर्‍याएर लडिएको लडाइ कहिल्यै पनि लम्बिदैंन । लडाईं गर्दा अरु कुरामा बुद्धि पुर्‍याउन सकिएन भने पनि असाधारण रुपले छिटो-छरितो चाहिं हुनैपर्छ । बुद्धिमान सेनापतिले सत्रुको खानाले आफ्ना सेनाहरु पाल्छन् । सत्रुको एक क्वीन्टल अन्न बराबार आफ्ना २०गुणा बढी बनाउ ।
३) सयवटा लडाइ लड्दा सयवटै लडाइ जित्नु पनि युद्ध कौसलता होइन । लडाइ नलडिकनै लडाई जित्नु नै युद्ध कौसलता हो । सत्रुको रणनीतिमाथि नै धावा बोल्नु लडाइको लागि विशेष महत्वको कुरा हो । भनिएको पनि छः लडाइमा सबैभन्दा ठूलो कुरा सत्रुको योजना नै ध्वस्त पार्नु हो । सहरमा आक्रमण गर्नु हुदैन । सहरमा आक्रमण गर्नु भनेको बेकम्माको रणनीति हो । अरु कुनै विकल्प भएन भने मात्र सहरमा आक्रमण गर्नुपर्छ । यदि सेनापतिले अधैर्य भएर आफ्ना सैनिकहरुलाई पर्खालमा कमिलाले जसरी धुइरिने आदेश दिन्छ भने सत्रु सहर कब्जा गर्नुको सट्टा आफ्नै एक तिहाइ सैनिक मारिन्छ । यस्तो क्रियाकलापबाट आफ्नै बिल्लीबाँठ हुन्छ । लडाइमा निपूर्ण व्यक्तिहरुले सत्रुसंग भिडन्त नै नगरी विजय प्राप्त गर्दछन् । लामो समय खर्च नगरिकनै सत्रु राज्यलाई पल्टाइदिन्छन् । सैनिक परिचालनको कला यस्तो छ सत्रु सेनाको संख्या भन्दा आफ्नो सेनाको संख्या दश गुणा बढी छ भने उसलाई घेराबन्दी गर । सत्रुभन्दा आफु दुगुणा बलियो छ भने उसलाई फुटाउ । सत्रु र आफ्नो सैनिक बराबरी छ भने लडाइमा भिडे हुन्छ । यदि सत्रु भन्दा आफु संख्यात्मक रुपले कमजोर भए फर्कन सक्षम बन । पाँच प्रकारको परिस्थितिमा आफ्नो विजय निश्चित हुन्छ । कुन बेला आफुले युद्ध लड्न सकिन्छ र कुनबेला सकिंदैन भन्ने कुरा थाहा पाउने व्यक्तिले अवस्य लडाई जित्छ । धेरै र थोरै सैनिकलाई प्रयोग गर्न निपूर्ण व्यक्तिले अवस्य लडाई जित्छ । पदहरु उद्देश्यसंग सम्बन्धित भएमा विजय निश्चित छ । सत्रु नभए पनि छ भनेर सजग रहने व्यक्ति पनि विजयी हुन्छ । सामर्थवान र राज्यबाट हस्तक्षेप नगरिएका सेनापतिहरुले नै विजय हासिल गर्न सक्छन् । तसर्थ म भन्छु सत्रुलाई चिन । आफुलाई पनि चिन । सयौं लडाइ लड्यौं भने पनि तिमी कहिल्यै हार्ने छैनौ । यदि तिमीले आफुलाई चिनेका छौ तर सत्रुलाई चिनेका छैनौ भने तिमीसँग जीत हारको संभावना बराबरी छ । यदि तिमीले आफुलाई पनि चिनेका छैनौ र सत्रुलाई पनि चिनेका छैनौ भने तिम्रो हार निश्चित छ ।
४) आफुलाई अभेद्धा आफैले बनाउनु पर्छ । सत्रुलाई भेद्धा उसैले बनाउँछ । अभेद्धा प्रतिरक्षामा निर्भर हुन्छ र विजय आक्रमणमा भर पर्छ । आफु कमजोर छ भने प्रतिरक्षा गर्नै पर्छ र आफु शक्तिशाली भए आक्रमण गर्नुपर्छ । प्रतिरक्षामा निपूर्ण व्यक्तिहरुले आफुलाई पाताल भित्र लुकाउँछन् । आक्रमणमा दक्ष व्यक्तिले आफुलाई आकासबाट सञ्चालित गर्छन् । यसरी उनीहरुले आफुहरुलाई सुरक्षित पनि गर्छन् र विजय पनि प्राप्त गर्छन् । पानीको गुन नै यस्तो हुन्छ कि यो अग्लोतिर जाँदैन र होचो ठाउँ भेट्टायो भने हतारिदै अगाडि बढ्छ । सैनिकको गति र पानीको गति उस्तै हुन्छ । सत्रुको लापरवाहीबाट फाइदा उठाउ । उसले सोच्दै नसोचेको बेला आक्रमण गर । उसको शक्तिलाई छल र कमजोरीमा हिर्काउ । त्यसो भए पानीको बेगलाई जसरी कसैले रोक्न सक्दैन । त्यसरी नै तिमीलाई पनि कुनै शक्तिले छेक्न सक्ने छैन ।
५) वेग गतिले गर्दा पानीको प्रवाहले ठुल्ठुला ढुंगाहरुलाई उफार्छ । समय मिलाउन सिपालु भएको कारणले गर्दा बाजले अरु चराहरुलाई च्याप्पै समात्न सक्छ । बाजले आफ्नो आहारालाई गाँजे जस्तै गरी आफुले सत्रुहरुलाई गाँज्न सक्नु पर्छ । उपयुक्त समय मिलाएर आक्रमण गर्न सके सत्रु सजिलैसंग परास्त हुन्छ । लडाइमा दक्ष व्यक्तिको वेग गति अत्यन्त प्रबल बन्छ । उसको आक्रमण अत्यन्त राम्रोसंग नियमित बन्छ । उसको शक्ति भनेको खिचिएको हो । उसको समय सचेतवान छोड्नु हो । आफुलाई अनुकुल पर्ने स्थितिको सिर्जना गर्न सत्रुलाई लोभ्याएर सन्चालन गर्नु पर्दछ । उ के गरे लोभिन्छ सो कुराको राम्रो निर्क्यौल गरेर उसलाई लोभ्याएर फसाउनु पर्छ । बहादुरहरु भिड्छन्, होसियारहरु प्रतिरक्षा गर्छन् र बुद्धिमानहरुले सल्लाह दिन्छन् । यसरी कसैको प्रतिभा पनि खेर  जाँदैन । कुशल नेतृत्वको सन्चालन भनेको सेनाको भविष्य तलतिर गुड्दै गएको हिउँको ढिका जस्तै हो । सानो शक्तिको प्रयोग गरेर ठूलो फाइदा लिनुपर्छ ।
६) सत्रुभन्दा अघि पुगेर, युद्धभूमिलाई जसले पहिले कब्जा गर्छ लड्न उसैलाई सजिलो हुन्छ, रणभूमिमा पुग्दा पछि पर्‍यो भने अगाडि बढ्नु पर्नेहुँदा चाँडै थाक्छ । त्यसैकारण लडाइमा सिपालु व्यक्ति आफैले सत्रुलाई मैदानमा ल्याउँछ, सत्रुद्वारा आफू ल्याइदैन आफूलाई अनुकुल नपर्ने अवस्थामा सत्रुलाई रोक्नु पर्छ । सत्रु आउने मुख्य नाका आफुले कब्जा गर्न सकियो भने सत्रु अघि बढ्न नै सक्दैन । मुसाको दुलो नजिकै बिरालो बसेको छ भने संख्यामा जतिसुकै भए पनि मुसाहरु बाहिर आउने आँट गर्दैन । बाघले घाट कुरेर बसेको देख्यो भने मृगहरु संख्यामा लाखौं भए पनि खोला तर्ने आँट गर्दैन । सजिलोसंग बसेको सत्रुलाई अप्ठेरोमा पार, अघाएको सत्रुलाई भोको बनाउ र आरामसंग बसेको सत्रुलाई लघार । सत्रुलाई जुन ठाउँमा छिटोछिटो हिंड्नुपर्छ, त्यस्तो ठाउँमा आफु देखापरी सत्रुले तिमी आउला भनेर सोच्दै नसोचेको ठाउँमा तिमी तेजगतिमा पुग । मैले कुन ठाउँमा आक्रमण गर्दैछु भन्ने कुरा सत्रुलाई थाहा दिनु हुँदैन । यस कुराको जानकारी नभएपछि उसलाई धेरै ठाउँमा तयार हुनुपर्नेछ । उसले छरिएर तयारी गरेपछि जहाँ आक्रमण गरे पनि थोरैसंग मात्र लडे पनि पुग्छ । यदि सत्रुले अघिल्तिर तयारी गरेको छ भने पछाडि कमजोर हुन्छ र पछाडि तयारी गरेको छ भने अगाडि कमजोर हुन्छ, बायाँ तिर राम्रो तयारी छ भने दायाँतिर आक्रमण गर्न सजिलो हुन्छ र दायाँतिर राम्रो तयारी छ भने बायाँतिर कमसल हुन्छ । सबैतिर तयारी गर्‍यो भने सबै तिर कमजोर हुन्छ । सत्रुको योजनाहरु पत्ता लगाउ, त्यस पछि कुन रणनीति काम लाग्छ र कुन लाग्दैन भन्ने कुरा तिमीलाई थाहा हुन्छ ।
७) आफु अप्रत्यक्ष बाटोबाट अगाडि बढ र सत्रुलाई लोभ्याएर अर्कैतिर फसाउ । सत्रु हिंडीसकेपछि मात्र आफु हिंड सत्रु पुग्नु भन्दा पहिले नै आफू पुग, यस्तो बुद्धि पुर्‍याउन सक्ने व्यक्तिले नै प्रत्यक्ष र अप्रत्यक्ष रणनीति बुझ्छ । युद्ध कौसलमा फाइदा र खतरा दुवै हुन्छ । सबै सैनिकलाई फाइदा कै पछि मात्र लगाउन चाहनेले फाइदा लिन सक्दैन । स्थानीय पथ प्रदर्शक प्रयोग गर्न सकिएन भने जमिनबाट लिनु पर्ने फाइदा लिनु सकिंदैन । लडाइमा हुरी र बाजा जस्तै बेगवान बन, अगाडि बढ्ता सुविस्तासँग बढ, जंगल जस्तै सानदार बन, आक्रमणमा आगो बन, चट्टान जस्तै दृढ बनेर उभ, बादल जस्तै बुझ्न नाप्न नसकिने बन र हिड्दा बिजुली चम्के जस्तै हिंड । घन्टी, ड्रम, ध्वजा-पतकाहरु सैनिकको ध्यान एकाग्र गर्न गरिएका हुन् । युद्धमा कुशल व्यक्तिले सत्रुलाई हतास पारेर मात्र आक्रमण गर्छ । सत्रुलाई उत्तेजित गरेर अलमलमा पार्छ । तर्साएर हैरान पार्छ यसरी उसले सत्रुको मन खल्बल्याएर दिमागी शक्ति क्षीण बनाइदिन्छ । विहान मानिस फुर्तिलो हुन्छ दिउँसो अल्छी बन्छ र बेलुकी घर सम्झन थाल्छ । लडाइ गर्न सिपालु व्यक्तिले सत्रुलाई फुर्तिलो भएको बखत आक्रमण गर्दैन, सत्रुहरुमा जाँगर नभएको र घर सम्झिरहेको  बखतमा मात्र आक्रमण गर्छ । सत्रु अग्लो ठाउँमा बसेको छ भने उसँग भिड्नु  हुँदैन, सत्रुको पछाडि पहाड छ भने त्यस्तो सत्रुको पनि विरोध गर्नु  हुँदैन । सत्रु भागेको बहाना गर्छ भने उसको पिछा नगर । थापिएका बल्छीहरु ननिल । घेराबन्दीमा परेको सत्रुलाई भाग्ने बाटो दिनुपर्छ । उसलाई सुरक्षित बाटो देखाइदेउ ।  बाँच्ने उपाय छ भन्ने पार र आक्रमण गर । सत्रु आउँदैन भनेर कहिल्यै सोच्नु हुँदैन । सधैं सत्रुसंग भिड्न मनस्थितिमा तयार भएर बस्नुपर्छ । यो लडाइको सामान्य सिद्धान्त हो । सत्रुले आक्रमण गर्दैन भनेर कहिल्यै नसोच । आफुलाई सधैं तयार राख । सेनापतिको चरित्रमा यी पाँच  अवगुणहरु हुनु हुँदैन । असावधान छ भने उ मारिन सक्छ । कातर छ भने उ पक्राउ पर्न सक्छ । चाँडै रिसाउने खालको सेनापतिलाई मुर्ख बनाउन सकिन्छ । सत्रु मान-अपमानमा बढि चासो राख्ने खालको छ भने उसलाई निन्दा गर्न वा झुठो आरोप लगाउन सकिन्छ । उ दयालु खालको छ भने तिमीले उसलाई तङ गरेर हैरान पार्न सक्छौ ।
८) आफु अग्लो ठाउँमा बसेर सत्रुलाई होचो ठाउँमा पार र आक्रमण गर । खोला तरिसकेपछि आफु खोलाबाट केही टाडो पुग्नुपर्छ । सत्रु खोला तर्न लागेको छ भने पारी पट्टिको किनारमै सत्रुलाई आक्रमण नगर आधा जति फौजलाई खोला तर्न देउ र आक्रमण गर । लडाइमा जित्नु छ भने खोला नजिक सत्रुसंग नभिड । अग्लो र पहारिलो ठाउँमा किल्ला जमाउ, ओरालोपट्टि क्याम्प राख । जमीन दलदले छ भने छिट्टै पार गर । त्यस्तो ठाउँमा अलमलि रहनु हुँदैन । यदि त्यस्तो ठाउँमा  सत्रुसंग भिड्नु पर्‍यो भने घाँस र रुखको आड लिनुपर्छ । समथर भुमिमा आफुलाई अनुकुल पर्ने गरी ठाउँ ओगट्नुपर्छ । दायाँ र पछाडि पट्टि ढिस्काहरु हुनुपर्छ पछाडि पट्टि सुरक्षित रहेर अगाडिको मोहरीबाट लडाईं गर्नुपर्छ । ठाडो छाँगो, अनौठो खाडी, अनौठो खोंच, अनौठो धराप र अनौठो चिराबाट जति सक्दो छिट्टै भाग्नुपर्छ । त्यस्ता ठाउँहरुको नजिक जानु हुँदैन । पूर्व समझदारी नभईकन नै सत्रु एक्कासी युद्धविराम चाहन्छ भने सत्रु षडयन्त्र गर्दैछ । आधा फौज अगाडि बढ्यो र आधा फौज पछाडि हट्यो भने सम्झ सत्रुले तिमीलाई फसाउन खोज्दैछ । यदि सिपाहीहरु छुट्टा छुट्टै समूहमा थुप्रेर कानेखुसी गर्न थाले भने सेनापति माथि अविश्वास सुरु भयो । आदेश दिंदा सिष्ट भाषा प्रयोग गर । सैनिकलाई जोसका साथ एक रुपले अराउ, विजय निश्चित छ । आदेशहरु दृढ र प्रभावकारी छन् भने सैनिकहरु आज्ञा पालक हुन्छन्, आदेशहरु दृढ र प्रभावकारी छैनन् भने सैनिकहरु आज्ञा पालक हुँदैनन् ।
९) फौज तगडा भए पनि सेनापति लुइरे भए फौज विद्रोही बन्छ । सेनापतिले पहिले दुःख खप्नुपर्छ, उसले गर्मीमा छाता ओढ्नु हुँदैन,  जाडोमा बाक्लो लुगा लगाउनु हुँदैन । अप्ठेरो र खतरापूर्ण ठाउूमा पनि हिड्नु पर्छ सैनिकले इनार नखनी उसले पानी पिउनु हुँदैन, सैनिकहरुको खाना पाकेपछि मात्र उसले खाना खानुपर्छ । सैनिकले बस्ने सुरक्षित ठाउँ तयार गरेपछि मात्र आफ्नो बासस्थानमा जानुपर्छ । यदि सेनापतिले आफ्ना सिपाहीहरुलाई माया गर्छ तर खटाउन सक्दैन, स्नेह गर्छ तर आदेश पालना गराउन सक्दैन र अव्यवस्थित सेनालाई नियन्त्रण गर्न पनि सक्दैन भने तिनीहरु विग्रेका बच्चाहरु जस्तै हुन् र तिनीहरु बेकम्मा बन्छन् ।
१०) मैदानमा युद्ध नगर, सिमानामा रोकिने काम नगर । फौजी नियम यस्तो छ की सत्रुहरुलाई घेराबन्दी गर्दा एक ठाउँ खुला छोडिदिनुपर्छ किन भने भाग्ने ठाउँ पाए पछि सत्रुहरु ज्यानको माया मारेर लडाइ गर्दैनन् । यदि आफु घेराबन्दीमा परियो र सत्रुले भाग्ने निकासा छोडिदियो भने त्यो निकास आफैले बन्द गरिदिनुपर्छ ताकी आफ्नो सिपाही र फौजी अफिसरहरु ज्यानको बाजी लगाएर लडुन् । भनिएको पनि छ कि यदी कोही व्यक्ति सहयोगको लागि छिमेकीसंग पनि सम्झौता गर्दैन, बुद्धि पुराएर योजना बनाउन पनि सक्दैन र सत्रुलाई जित्नको लागि आफ्नै सैनिकको बलबुतामा मात्र भर पर्छ भने उसले आफ्नै राज्य पनि गुमाउन पर्नेछ ।
११) जब सत्रुले मेरो क्रियाकलापको चियो चर्चा गर्न जासुस पठाउँछ, म तिनीहरुको जासुसलाई घुस खुवाएर आफ्नो पक्षमा लिन्छु । जासुस नभएको सेना  आँखा र कान नभएको व्यक्ति जस्तै हो ।

No comments:

Post a Comment