गत महिना अमेरिकाबाट तालिम र हतियारप्राप्त सात हजारको अफगानी सुरक्षा फौजले अफगानिस्तानको उत्तरी सहर कुन्दुज जोगाउन नसकेको समाचार चर्चामा रह्यो । यद्यपि, यो अमेरिकी तालिम प्राप्त विदेशी सेनाको आफैँ लड्नसक्ने अक्षमताको निरन्तरता मात्रै हो । बासिङटनले गतवर्ष इराकमा यस्तो परिणाम भोगिसकेको थियो । अमेरिकाले इराकी बललाई तालिम दिन र हतियारबद्ध गर्न २५ अर्ब अमेरिकी डलर खर्च गर्यो । तर, इराकी बलले त्यहाँ आफ्ना हतियार फाल्यो र दुई मुख्य सहर मोसुल र रामादी आइएसका लडाकुलाई बुझाइदियो । आठ सयदेखि एक हजारको बीचमा रहेको आइएस लडाकुले ३० हजार इराकी सेनालाई हराइदियो ।
यस्तो १९७५ मा भियतनाममा पनि भएको थियो । त्यहाँ, अमेरिकाद्वारा तालिमप्राप्त र हतियारबद्ध दक्षिण भियतनामी सेना उत्तरी भियतनामीको आक्रमणमा तहसनहस भयो । अन्तत: उक्त देश कम्युनिस्टहरूको हातमा पुग्यो ।
अहिले त्यस्तै हविगत सिरियामा पनि देखिरहेका छौँ । अमेरिकाले तालिम दिएका सिरियाका सेना आइएसविरुद्ध लड्नुको सट्टा अलकायदाको शाखा अल नुस्रा समूहमा छिरिरहेका छन् । यी हारले अमेरिकी नीति–निर्मातालाई दुइटा प्रश्न उठाउनुपर्छ : किन यस्तो हुन्छ ? हामी किन त्यही दोहोर्याउँदै फरक परिणाम खोज्छौँ ?
पूर्व सुरक्षा सचिव रोबर्ट गेट्सजस्तै केही मानिस अमेरिकी सेना प्रभावकारी तालिम दिन सक्षम र इच्छुक दुवै नभएको तर्क गर्छन् । तर, यो सत्य होइन । अमेरिकी साना अफिसरहरू अमेरिकी युवक तथा युवतीलाई सदैव तालिम दिइआएका छन् र तिनलाई १२ हप्तामै कुशल लडाकु बनाउँछन् ।
अमेरिकी तालिमप्राप्त विदेशी सेना सामान्यतया नटिक्नुमा तिनीहरूलाई राम्ररी तालिम नदिइएको वा कमसल हतियार भएर होइन । वास्तवमा, उनीहरूसँग प्राय: राम्रो हतियार हुन्छ र तिनले विपक्षीभन्दा निकै विस्तृत तालिम पाएका हुन्छन् ।
ती असफल हुनुको मूल कारण मूलत: ती प्रेरित नहुनु हो । युद्धमैदानमा सैन्य सफलता लडाकुहरू आफ्नो सरकारप्रति विश्वास गरी लड्न र मर्न तत्पर छन् कि छैनन् भन्नेमा निर्भर गर्छ । युद्ध जित्न लडाकुले उत्तम तालिमभन्दा बढी तिनको सरकारले आफ्ना सबै नागरिकको हित रक्षाका लागि काम गरिरहेको छ भन्ने विश्वास गर्नुपर्छ ।
इराकी र दक्षिण भियतनामी सेनाले आफ्ना सरकारप्रति विश्वास गरेनन्, न अफगानिस्तानका आजका लडाकुले गरे । ती सेना आफ्ना सरकारलाई अक्षम, भ्रष्ट र पक्षपाती मान्छन् । अर्को शब्दमा भन्दा ती लडाकुले ती सत्ताको रक्षा गर्न आफ्नो जीवन दिन योग्य मानेनन् ।
यस्तो प्रेरक समस्या थाहा पाउँदा–पाउँदै अमेरिका किन विदेशी बललाई तालिम दिइरहन्छ ? उत्तर सरल छ : यसो गरेर बासिङटन कहिल्यै सामेल हुनु नपर्ने युद्धमा समावेश भएबापत उत्पन्न संकटलाई टार्न सक्छ । र, अमेरिका आफ्ना उद्देश्य प्राप्त भए भनेर बहाना बनाउन सक्छ ।
उदाहरणका लागि भियतनामभित्र पाँच लाख सेना र समग्र युद्धमा १२ लाख मानिस संलग्न हुँदाहुँदै पनि १९६८ पछि अमेरिका दक्षिण भियतनामलाई स्वतन्त्र बनाउने उद्देश्य हासिल गर्न सक्दैन भन्ने प्रस्ट भइसकेको थियो । त्यसपछि अमेरिकाले बिस्तारै आफ्ना सेना फिर्ता गर्न थाल्यो र उसले तालिम दिएका दक्षिण भियतनामी बललाई अघि सार्न थाल्यो । निक्सन प्रशासनले पाँच वर्षपछि पेरिस शान्ति सम्झौता गरी सम्पूर्ण अमेरिकी सेना औपचारिक रूपमा फिर्ता गर्यो र सम्पूर्ण युद्ध दक्षिण भियतनामी सेनाको हातमा छोडिदियो । अमेरिकाले ती सेना आफ्नो देशको रक्षा गर्न सक्षम भएको बतायो ।
कागजमा त ती सक्षम थिए । तर, निक्सन प्रशासनले दक्षिण भियतनामी सेनालाई तालिम दिनुको मुख्य कारण अमेरिकी फिर्तीबारे तर्क गर्न र ६० हजार अमेरिकीको बलिदान एवं पाँच लाखको अंगभंगको पुष्टि गर्नु थियो । १९७३ मा पेरिस सम्झौतामा हस्ताक्षर गर्दा उनले यसलाई ‘सम्मानसहितको शान्ति’ भनेका थिए । उत्तरी भियतनामीले १९७५ को मार्च १९ मा आक्रमण सुरु गरेपछि दक्षिण भियतनामी सेना अमेरिकी र स्वयं उत्तरी भियतामीले सोचेभन्दा छिटो धाराशयी भयो । दक्षिणी भियतनामी सेनाका केही युनिटमा रहेको कमजोर नेतृत्व एउटा मुख्य कारण त थियो तर मुख्य कारण तिनीहरूले उत्तरी भियतनामी कम्युनिस्टहरूसँग रहेको विजयको अभिलाषालाई भेट्नै सकेनन् । धेरै दक्षिणी भियतनामी सेना त अमेरिकी फेरि उद्धार गर्न आउला भन्ने आशा गरी बसे ।
त्यसैगरी इराकमा जब उपराष्ट्रपति डिक चेनी र रक्षासचिव डोनाल्ड रम्सफेल्डले बाचा गरेजस्तो हस्तक्षेप सफल भएन, तब अमेरिकी सेनाले मूर्खतापूर्ण तरिकाले इराकी सेना विघटन गरिदियो । अतिक्रमणको केही सयमपछि नै बासिङटनले नयाँ इराकी बललाई तालिम दिनुपर्यो । त्यसो नगरेको भए अमेरिकाले लामो समयसम्म इराकलाई धान्नुपथ्र्यो ।
दुर्भाग्य अल कायदा, जुन पछि आइएसमा परिणत भयो, को उदयपछि अमेरिकाले अरू पाँच वर्ष सेना फिर्ता गर्न पाएन । छोड्ने वेला उच्च तालिमप्राप्त पाँच लाख इराकी सैन्य बल बनाएको भनिएको थियो । अफगानिस्तानमा पनि त्यही हालत छ । तालिवानले ओसामा विन लादेन र उसको अल कायदा शक्तिलाई हटाउन नमानेपछि अमेरिकासँग त्यहाँ हस्तक्षेप गर्नु र तालिवानलाई शक्तिबाट हटाउनुको विकल्प थिएन । तर, यो काम फत्ते गरेपछि बासिङटनले ‘साम्राज्यहरूको चिहान’ मानिएको अफगानिस्तानमा स्वतन्त्र र स्थिर सरकार बनाउने निर्णय गर्यो ।
त्यसका लागि बलियो सैन्य बल बनाउन तालिम सुरु गर्नुपर्छ भन्ने अमेरिकी सेनालाई थाहा थियो ताकि उनीहरू पाकिस्तानमा पुनर्संगठित भइरहेका तालिवानविरुद्ध लड्न सकून् । अहिले त्यहाँ अमेरिकाले तालिम दिएको तीन लाखको बलियो अफगानी सैन्यबल छ ।
तर, त्यति धेरै तालिम प्राप्त र आधुनिक हतियारले सुसज्जित बल तालिवानविरुद्ध लड्न सकिरहेको छैन । अमेरिकीहरू शताब्दीआँैदेखि बहादुर लडाकुका रूपमा चिनिएका छन् तैपनि अमेरिकी तालिमप्राप्त सेना जित्न सकिरहेका छैनन् । मुख्य कारणचाहिँ धेरैको सैन्यबल परित्याग हो । त्यसका अतिरिक्त धेरै अधिकृत नै केन्द्रीय सरकारभन्दा आफ्ना जाति तथा समूहप्रति बफादार हुनु पनि हो । उनीहरू केन्द्रीय सरकार भ्रष्ट र अक्षम भएको पनि ठान्छन् ।
विदेशी सेनालाई सफलतापूर्वक तालिम दिनसक्ने अमेरिकी खुबीमा शंका गर्ने कुनै एक व्यक्ति छ भने त्यो ओबामा हो । उनले इराक र अफगानिस्तानमा हजारौँ सेना राखिराख्नुपर्ने धेरैको मागको प्रतिवाद गरे । तर, आज तिनै ओबामा सिरियामा विद्रोही सेना तयार पार्ने र तिनलाई तालिम दिने कुरा गरिरहेका छन् । त्यो केवल कल्पना हो ।
(रोनाल्ड रेगनको राष्ट्रपतिकालमा उपरक्षासचिव रहेका कोर्ब ‘सेन्टर फर अमेरिकन प्रोग्रेस’ का वरिष्ठ अध्येता हुन् ।)
No comments:
Post a Comment