Wednesday, October 21, 2015

एसियाली शताब्दीको सपना -युरिको कोइके


सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिदेखि सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएको वेलासम्मको समयलाई लिएर पूर्वबेलायती माक्र्सवादी इतिहासकार एरिक हब्सबनले ‘लामो उन्नाइसौँ शताब्दी’ भनेका थिए । चीनको विकास र अमेरिकाको निश्चितजस्तो पतनलाई देखाएर एक दशकअघिसम्म मानिसहरू ‘एसियाली शताब्दी’ को उदयको कल्पना गर्थे । तर, चिनियाँ अर्थतन्त्रमा आइरहेको उथलपुथल, धर्मराइरहेका मलेसिया र थाइल्यान्डका ‘बाघ’ अर्थतन्त्र र सिंगापुरको आर्थिक मोडललाई लिएर उठिरहेका प्रश्न हेर्दा ‘एसियाली शताब्दी’ असामयिक अन्त्यतिर आएको त होइन भन्ने भएको छ । 
राजनीतिक र आर्थिक समस्याले पूर्वदेखि पश्चिमसम्म विपत्ति ल्याएको छ । भारतका प्रधानमन्त्रीमा नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपतिमा जोको विडोडोको विजयले आर्थिक सुधारको नयाँँ लहर आउनेछ भनी गरिएको आशा पानीको फोकाजस्तो हुँदै छ । त्यसैगरी दक्षिण कोरियामा दुई राष्ट्रपतिले केही निश्चित परिवारको कब्जामा अर्थतन्त्र रहेको अवस्थालाई अन्त्य गरी उद्यमशीलताको नयाँ सुरुवात गर्ने भनी गरेका प्रतिबद्धता पूरा गर्न सकेनन् । र, जापानमा प्रधानमन्त्री सिन्जो अवेले दीर्घकालीन सुधार लागू त गरेका छन् तर त्यसले आर्थिक गतिशीलता ल्याउन बाँकी नै छ । यसका अतिरिक्त एसियामा गम्भीर राजनीतिक र सुरक्षा चुनौती छन् । अमेरिका र चीनबीच रणनीतिक शत्रुता बढ्दो छ । यो क्षेत्रभरि राष्ट्रवाद ब्युँतिँदै छ । हङकङमा ‘एक देश, दुई प्रणाली’ मोडलको सरकार धर्मराउँदो छ । ‘साउथ चाइना सी’ को ठूलो क्षेत्र र भारतीय प्रान्त अरुणाञ्चल प्रदेशमा चीनले गरेको दाबी अस्थिरता ल्याउन काफी छ । र, सायद सबैभन्दा खतरा एक्लिएको र अनुमान गर्न नसकिने उत्तर कोरियाली सत्ताबाट छ, जुन झन्पछि झन् अस्थिर भइरहेको छ । यो क्षेत्रमा सुसंगत क्षेत्रीय संरचनाको अभाव छ । यस्तोमा एकातिर अमेरिका १२ वटा प्यासिफिक राष्ट्रलाई लिएर बृहत् खुला–व्यापार क्षेत्र निर्माण गर्दै छ भने अर्कोतिर चीन एसियाली पूर्वाधार लगानी बैंक र रेसम मार्गमार्फत् चीन–केन्द्रित व्यापार क्षेत्र बनाउँदै छ । यसमा चीनको क्षेत्रीय प्रभुत्व कायम गर्ने अभिलाषा मात्र होइन, राज्य नियन्त्रित पुँजीवादी मोडलको विस्तार आकांक्षा पनि लुकेको देखिन्छ । 
यी सबै अनिश्चयले एसियाली शताब्दीको आधारमै गम्भीर समस्या रहेको प्रस्ट हुन्छ, भलै त्यो केहीअघिसम्म यो क्षेत्रको तीव्र आर्थिक विकासले छोपिएको थियो । तथापि, यो क्षेत्रका देशबीचको व्यापारलाई जोड्ने ठूलो उत्पादक शृंखलाले विशिष्ट एसियाली उपरी संरचना निर्माण भएको थियो । यो क्षेत्रका अर्थतन्त्र बलियो हुँदा समस्या पहिचान गर्नेतिर खासै काम भएन । बाहिर आइरहेका नीतिगत जडता यो क्षेत्रका उदीयमान आर्थिक समस्याको मुटुनेर नै छन् । र, यो अकर्मण्यता सम्बोधन गर्न कठिन हुनेछ किनकि यो केही राष्ट्रका शासकीय स्वरूपमै निर्मित छ । उदाहरणका लागि मोदीले सोचेजस्तो सुधार गर्न भारतको संघीय प्रणाली निकै ठूलो अवरोधक बनेको छ । नयाँ एकीकृत बिक्री कर तथा भूमिसुधारजस्ता प्रावधान राज्य सरकारका अवरोधको निसाना भएका छन् । ती भारतमा विश्वस्तरको पूर्वाधारमा टिक्ने एकीकृत आन्तरिक बजार बनाउन निर्णायक थिए । भियतनामको कम्युनिस्ट पार्टीको सामूहिक नेतृत्वमा आएको विभाजनका कारण भियतनाम पनि नीति–पक्षघातको समान समस्याको सामना गरिरहेको छ । 
चीनको माथिदेखि तलसम्म राज्य–पुँजीवाद रहेकाले यो समस्या त आएको छैन किनकि चिनियाँ कम्युनिस्ट पार्टी आर्थिक एजेन्डामा तुलनात्मक एकताबद्ध नै छ । तर, पछिल्ला केही दशकमा भएको अनियन्त्रित वृद्धिले केही समस्या ल्याएको छ । जस्तै, पृथ्वीकै कुनै ठाउँमा नदेखिएको वातावरणीय गिरावट, स्थानीय सरकारको अत्यधिक ऋण र भयंकर भ्रष्टाचार । ती सबै सतहमा आएका छन् । हालै पुँजी बजारमा आएको उतारचढावको व्यवस्थापनमा देखिएको अस्तव्यस्तताले ती सबै समस्या सम्बोधन गर्न सत्ताधारी पार्टी सक्षम होला भन्ने आशा गर्न सकिन्न । 
मलेसिया र थाइल्यान्डले पनि हालकै क्रमश: मलेसियामा एक पार्टीको निरंकुशता र थाइल्यान्डमा सभ्रान्त सैनिक शासनको बाटो अवलम्बन गर्ने कि सीमान्तमा परेका जनसंख्याको हिस्सालाई विश्वास लिई राजनीतिक मेलमिलापको बाटो रोज्ने विकल्प मात्रै बाँकी छन् । तर, अहिलेसम्म हेर्दा दुवै देशका शासक उनीहरूसामु रहेका विकल्पप्रति आँखा बन्द गरिरहेका छन् । सबैभन्दा आशावादी स्थिति जापानमा छ । 
अन्तत: दुई दशकपछि जापानले लामो समयदेखि जकडिएको नीतिगत अन्योललाई तोडेको छ । परम्परागत कृषि आदत, विद्युतीय शक्ति र अरू आर्थिक क्षेत्रलाई छोडिएको छ । अझै गर्न बाँकी छ, खासगरी प्यासिफिक क्षेत्रीय पार्टनरसिपलाई पारित गर्नु जरुरी छ, जसले जापानको अर्थतन्त्रलाई स्थिर गर्नेछ । 
आफ्नो निर्भिक दृष्टिकोणसहित अवे अरू एसियाली–खासगरी चिनियाँ– नेताका लागि नमुनाका रूपमा उदाएका छन् । एसियाली शताब्दी ल्याउने हो भने त्यस्तो निर्भीकपना महत्त्वपूर्ण हुन्छ । (कोइके जापानकी पूर्वरक्षामन्त्री हुन्) - 

बिहारी स्वार्थको मधेस कार्ड -कमल मित्र चेनोई

नेपालमा संविधान जारी भएपछि भारतले अपेक्षित प्रतिक्रिया जनाएन । यसको आन्तरिक कारण हो, बिहार चुनाव । यही अक्टोबर १२ देखि ५ नोभेम्बरसम्म बिहारमा चुनाव हुँदै छ । बिहारको तराई लामो क्षेत्र छ, जहाँ पछि पारिएका थुप्रै जातिदेखि ब्राह्मणसम्मको बसोबास छ । बिहारीहरूको नेपालको तराई मधेसका जनतासँग गहिरो सम्बन्ध छ । वैवाहिक सम्बन्ध छ । दुवैतिरका मधेसी मूलका मानिस आवत–जावतका लागि खास सीमा छैन । त्यही खुला नाकामा भारत सरकारले घोषणा नगरी नाकाबन्दी लगाइदिएको छ । बिहारको चुनाव भारतीय वर्तमान राजनीतिका लागि ठूलो प्रतिष्ठाको विषय भएको छ । भारतले स्वागत गर्ने विषयमा यसैले असर पारिदिएको छ । जनताका प्रतिनिधिले बनाएको संविधान घोषणा ६० वर्षपछि तय भयो । यसमाथि धेरै बहस भयो । धेरै जनताको सहभागिता रह्यो । अत्यधिक संख्याका जनप्रतिनिधिले यसमा समर्थन दिए । तर, भारतले संविधान जारी गर्नबाटै रोक्न खोज्यो । जारी भइसकेपछि पनि अस्वस्थ प्रतिक्रिया दियो । अन्तत: उसले नेपालको नयाँ संविधानमा आफ्नो असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्दीमै उत्रियो । नाकाबन्दीकै कारण यतिवेला सारा नेपाली जनजीवन अस्तव्यस्त भएको छ । नेपाल हाम्रो छिमेकी मात्र होइन, अत्यन्त घनिष्ट मित्र हो । राजाले विगतमा दमन गर्दा हामीले नेपालका धेरै नेतालाई दिल्लीमा ‘सेल्टर’ उपलब्ध गरायौँ । एकजनालाई त मैले मेरै घरमा राखेको थिएँ । म अध्यापक संघको अध्यक्ष थिएँ । नेपाली कांग्रेस, जनमोर्चा, एमालेलगायत नेताहरू आउनुभएको थियो । उहाँहरूलाई लोकतन्त्रको लडाइँमा हामीले पूरै साथ दिएका थियौँ । नेपालमा लोकतन्त्र बहाली गराउन हामीले दिएको सहयोग र सद्भाव बिर्सेर भारत सरकारले संविधान जारी भएपछि स्वागत गरेन । नेपालमा एकथान संविधान जारी भएको ‘नोट’ गरेको बतायो । अर्थात्, उसले संविधान बनेको थाहा पायो । यो अत्यन्तै दु:खको विषय हो, जसका पछाडि कुनै तर्क र तथ्य छैन । भारतीय जनता यसलाई मान्नेवाला छैनन् । केही भाजपाका नेताले भने, नेपाल हिन्दूराष्ट्र भएन । एउटा सार्वभौम स्वतन्त्र मुलुकलाई हेर्ने यो तरिका के हो ? भारत ठूलो र नेपाल सानो देश हो भन्दैमा यी दुवै राष्ट्रको महत्त्व कम–बेसी हुने होइन । भारतको भन्दा राम्रो संविधान नेपालको संवैधानिक प्रावधान भारतको भन्दा उत्कृष्ट छ । भारतमा जब संविधानसभाको चुनाव भयो, ब्रिटिस साम्राज्यवादीको कानुन १९३५ मा सर्त थियो, चुनावमा मत हाल्नका लागि मानिसको या त जग्गाजमिन हुनुपर्छ वा आयकर तिरेको प्रमाण हुनुपर्छ । यसरी संविधानसभा चुनावमा भारतका १६ देखि १८ प्रतिशत जनताले मात्र भोट हाले । नेपालमा ७८ प्रतिशत जनताले संविधानसभामा भोट हाले, ९० प्रतिशत संविधानसभा सदस्यले त्यसमा हस्ताक्षर गरे । त्यसकारण सुरुदेखि नै नेपालले तय गरेको बाटो प्रगतिशील थियो । भारतमा स्वतन्त्रतापछि हामीले नयाँ महसुस गरिरहेका थियौँ । त्यतिवेला पनि हामी अंग्रेज कानुनअनुसार नै चलिरहेका थियौँ । नेपालको यो अवस्था होइन । अधिकारको जुन प्रश्न छ, सुरुमा भारतको संविधानमा निजी सम्पत्तिको अधिकार मात्रै थियो । यसको खिलाफमा संविधानसभा र संसद्मा चर्चा चलिरहे पनि यसमा संशोधन गरेर थप्न १९७१ सम्म कुर्नुपर्‍यो । जब कि नेपाली संविधानमा ३९ वटा मौलिक अधिकार स्थापित छन् । मूल अधिकार र निर्देशक सिद्धान्त पनि भारतमा सीमित छन् । कति समयसम्म भारतमा मौलिक अधिकार, निर्देशक सिद्धान्त नै यति कमजोर थियो कि अदालतमा मुद्दा–मामिला नै सम्भव थिएन । हाम्रो संविधानसभामा विस्तृत चर्चा पनि भएन कि अधिकार कसरी स्थापित गर्ने ? महिला अधिकार थिएन । नेपालमा सबै अधिकार मौलिक अधिकारबराबर छन् । यति ठूलो लोकतन्त्रमा नागरिकको मौलिक अधिकार जम्मा ३५ वटा छन् । यो अधिकारबाट गरिब जनता लाभान्वित छैनन् । नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमत्र्य सेनले भनेका छन्, ‘भारतमा गरिबीको रेखामुनि ६८ दशमलव ७ प्रतिशत जनता छन् । अर्थात् कुल जनसंख्याको दुईतिहाइ जनता गरिब छन्, सरकार उनीहरूको पक्षमा छैन । तर, भूकम्पबाट पूरै प्रभावित भएको अवस्थामा पनि नेपालको यति कहालीलाग्दो अवस्था छैन । समानुपातिक प्रतिनिधित्व महत्त्वपूर्ण प्रश्न हो । भारतमा यस्तो व्यवस्था बिल्कुल छैन । वर्तमान भाजपा सरकारले जम्मा ३५ भोट प्राप्त गरेर सरकार चलाइरहेको छ । नेपालमा पहिला ५८ प्रतिशत अहिले ४५ प्रतिशत समानुपातिक प्रतिनिधित्व सुनिश्चित छ । सानो पार्टीलाई पनि संसद्मा पुग्ने मौका नेपालको संविधानले दिएको छ । यो सुविधा भारतमा छैन । भारतमा प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै कायम छ । भारतमा अन्तरिम संविधान थिएन, ब्रिटिस संविधानअनुसार संविधानसभासम्म पुगिएको हो । देश विभाजनपछि १९४८ मा संविधान निर्माण प्रक्रिया सुरु भयो र १९४९ को अन्तिममा सम्पन्न भयो । बाबासाहेब अम्बेडकरले भारतीय संविधानबारे एउटा आलोचना गरे । उनले भनेका थिए, हामीले राजनीतिक बराबरीको ग्यारेन्टी गरिदियौँ । एक मानिस, एक भोट र एक भोटको एम मूल्य । सामाजिक बराबरीको अवस्था स्थापित गर्न सक्यौँ तर आर्थिक बराबरीको अधिकार ग्यारेन्टी गर्न सकेनौँ । उनले यतिसम्म भने, ‘यो संविधान हामीले बनायौँ । अंग्रेजलाई आलोचना गर्ने होइन, यसमा हामी पूरै जिम्मेवार छौँ । सुधार गर्छौँ ।’ सन् १९९१ मा विस्तृत रूपमा आरक्षणको व्यवस्था कार्यान्वयन भयो । यद्यपि भारतमा दलित र आदिवासीको आरक्षण सुरुदेखि नै थियो । २७ प्रतिशत आरक्षणमध्ये १५ प्रतिशत दलितको, आदिवासीको साढे सात प्रतिशत थियो । महिलाको आरक्षण थिएन । अन्य पिछडिएका वर्ग (ओबिसी) लाई पनि केही आरक्षण भयो । पछि भारतको सर्वोच्च न्यायालयले फेरि भन्यो, मध्यमवर्गीय ओबिसीलाई आरक्षण आवश्यक छैन ।’ मैले यसको खिलाफमा बोलेँ र लेखेँ । पिछडिएको जातिको समस्या वर्गीय होइन, सामाजिक हो । निजी क्षेत्रमा आरक्षण भएन, सरकारी क्षेत्रमा मात्रै आरक्षण दिइयो । तर, सन् १९९२ मा डा. मनमोहन सिंह वित्तमन्त्री हुँदा सरकारी संस्थान बेच्न थालियो । जवाहरलाल नेहरूले जे–जति पब्लिक संस्था बनाए, नेहरूका नाति राजीव गान्धीले ती सबै बेचिदिए । पब्लिक सेक्टर बेचिदिएपछि त्यहाँ आरक्षण रहने अवस्थै भएन । जस्तो, जवाहरलाल नेहरू विश्वविद्यालयमा एसिस्टेन्ट प्रोफेसरदेखि मात्रै ओबिसीका लागि आरक्षण छ । आदिवासी दलितका लागि खास आरक्षण छैन । यति ठूलो प्रजातान्त्रिक मुलुक भारतमा पनि उपल्लो जातिको दबदबा छ । यो सबै विषयमा नेपाल भारतभन्दा धेरै अगाडि छ । मधेसी, दलित, थारू, मधेसीलाई लाग्यो नेपालको संविधानमा आफ्नो भावना प्रतिनिधित्व भएन । नयाँ संविधान प्रगतिशील, धर्मनिरपेक्ष, बहुलवादी छ । अलग–अलग धाराको व्याख्या गर्ने हो भने केही बुँदा आलोचनायोग्य पनि छन् । तर, संविधानको मूल शक्तिको हिसाबले म हेर्छु, भारतको त्यस्तो छैन । नेपालको संविधान आलोचनै गर्नुपर्ने खालको छैन । तामिल र मधेस समस्या बाबा नागार्जुनले १९७४ तिर लेखे : इन्दिरा, तु तो रानी हैं तेरे देश मे बच्चे भुखे मरते हैं । यो भारतभर चर्चित भयो । हिन्दी भाषाको प्रभाव नभएको तामिल क्षेत्रमा पनि यो कविताले प्रभाव पार्‍यो । तमिलनाडु भारतसँग भन्दा तामिल नागरिकलाई गरेको व्यवहारका कारण श्रीलंका सरकारसँग असन्तुष्ट थियो । भारतले नेपालमा भन्दा धेरै गुणा हस्तक्षेप श्रीलंकामा गरेको थियो । भारतले एलटिटिईलाई हतियार दियो, तालिम दियो । र, किस्ती दिएर श्रीलंका पुर्‍यायो । जसले एलटिटिईलाई तालिम र हतियार दियो, त्यही भारतले उनीहरूविरुद्धको अपरेसनमा फौज पठायो । भारत सरकारका धेरै सैनिक त्यस क्रममा मारिए । दोहोरो मापदण्डको नतिजा के भयो भने एलटिटिईले नै राजीव गान्धीको हत्या गर्‍यो । अहिले भारतमा कतिपय भन्छन् कि राजीव गान्धी सहिद हुन् । राजीव गान्धी र म एउटै स्कुलमा पढेका हौँ । उनी मभन्दा सिनियर थिए तर मैले उनलाई स्कुलमा कहिल्यै देखिनँ । एउटा कथन छ, तपाईंले बीचमा हावा सञ्चित गरिदिनुभयो भने त्यसैबाट तुफानी आँधी आउँछ । भारतले हावा भरिदियो र त्यसको तुफान आयो । त्यो हिंसा र हस्तक्षेपको एउटा अनपेक्षित घटना थियो । श्रीलंकाको तमिल र नेपालको मधेस समस्या केवल ३० प्रतिशतजति समान छ, बाँकी दुवैको आ–आफ्नै चरित्र छ । भारतमा धेरै भाषा छन् । बिहारमा मैथिली, भोजपुरी भाषा छन् । युपीमा पनि यिनै भाषा चल्छन् । मधेस मामिलामा भारतले हस्तक्षेप गरे पनि तमिलजस्तो समस्या पनि होइन र त्यति डरलाग्ने अवस्था आउने सम्भावना पनि छैन । नेपालको अवस्था त्यहाँको भन्दा बिल्कुल फरक छ र भारत–नेपाल सम्बन्धको आयाम पनि बेग्लै छ । ‘इन्डियन एक्सप्रेस’को प्रयोग नेपालमा भारतले चुपचाप बातचित गर्नु सही हुन्थ्यो । अखबारमा छपाएर ब्यान्डबाजा बजाउनु गलत थियो । संविधान जारी प्रक्रिया चलिरहेका वेला इन्डियन एक्सप्रेसमार्फत भारत सरकारका तर्फबाट सातवटा बुँदा प्रस्तुत भयो । त्यसमा काफी आलोचना भयो । तर, पछि सरकारले भन्यो, ‘त्यो हामीले होइन ।’ कति उदेकलाग्दो † सात बुँदामा अन्तरिम संविधान र बनिरहेको नयाँ संविधानको तुलना भयो । प्रस्तावित नयाँ संविधानबारे भारतमा सरकारभन्दा अरूलाई थाहा हुने विषय नै थिएन र तुलना गरेर लेख्ने क्षमता त्यसकारण कसैसँग हुने कुरै भएन । इन्डियन एक्सप्रेसले लेख्यो कि यो भारत सरकारको सात बुँदा हो । भारतले देखाएको यो कच्चापन राजनीतिक अपरिपक्वता र घमन्ड हो । सातबुँदे सरकारी नै थियो किनभने अरूलाई त्यो थाहै थिएन, केवल भारत सरकार संविधानका हरेक प्रावधानबारे जानकार थियो । चुपचाप काठमाडौं गएर बातचित गरेको भए हुन्थ्यो, हल्लाखल्ला गर्नु जरुरी थिएन । त्यसपछि प्रधानमन्त्री मोदीले फोन गरे । ए भाइ, संविधानको मामिलामा फोन गर्नु शोभनीय हुन्छ ? यसको नियत के हो ? सही नियतले चुपचापसँग कुराकानी गरेको भए, यसको समाधान निस्कन्थ्यो । अहिले जे भयो, गलत भयो । भारतको फर्मुला नेपालमा चल्छ भन्नु सर्वथा नाजायज छ । भारत सरकारले बिहारलाई केन्द्रमा राखेर नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे गरेको टिप्पणी र व्यवहार अवसरवादी राजनीतिको उपज हो । यो आवश्यक थिएन । अब मानिलिऊँ, बिजेपीले बिहारमा जित्यो, उत्तर प्रदेशमा उसले जित्ने सम्भावना छैन । उत्तरप्रदेश त्योभन्दा ठूलो क्षेत्र हो । बिहारमा हार वा जितले नेपाल मामिलालाई प्रभावित पार्ने अवस्था हुँदैन । मानौँ, मोदीले जिते, के उनले नेपालमा सैनिक पठाउन सक्छन् ? असम्भव छ । यदि हारे भने भाजपाको तरंग समाप्त हुनेछ । मधेस : अन्तिम कार्ड अहिले मधेसको मामिला अचानक भारतको खल्तीमा आयो र उसले यो कार्ड नेपालमा प्रयोग गरिरहेको छ । यही कार्डका कारण बिहार चुनावमा लाभ लिने सम्भावना बिजेपी नेतृत्वले देखेको छ । नेपालमा खेल्न मधेस भारत सरकारको अन्तिम कार्ड हो । मधेस नेपालका लागि सम्हाल्न अप्ठेरो सबैभन्दा ठूलो मामिला हो, यहीँ भारत प्रवेश गरेको छ । समानुपातिक मामिला, नागरिकताको मामिला, समाधान हुनुपर्छ । अंगीकृत नागरिकता विश्वभर चलिरहेको बहस हो, तर प्रगतिशील नेपालले यसमा धेरै चिन्ता गर्नु आवश्यक थिएन । तर, मधेसमा अहिले जे भइरहेको छ, यो कति दिन चल्नेवाला छ ? राजनीतिक रूपमा यो समस्या लामो समय जाने सम्भावना हुँदैन, मधेसका जनताले पनि त भोकसँग सम्झौता गर्नुपर्छ, न कि अनावश्यक राजनीतिक स्वार्थहरूको पछि दगुर्ने । मधेसी जनता सधैँ नाकाबन्दी गरिरहन सक्छन् ? कसैले चलाएको तीर अब धेरै चल्नेवाला छैन । नेपाल सरकारले वार्ता गरिरहेको छ, भारत सरकारले नेपालप्रति दुस्मनी साँधिरहेको छ । पशुपतिनाथ मन्दिर गएका मोदीजीले कम्तीमा नेपालको यथार्थ बुझिदिनुपर्‍यो र झुटो व्यवहार गरिदिनुभएन । नाराजनीति शास्त्रको विद्यार्थीका नाताले म भन्छु, मेरो सरकारले जे गर्‍यो गलत गर्‍यो । म सरकारले लिएको बाटोमा सहमत छैन । अन्त्यमा भारतीय फौजमा ६५ हजार नेपाली युवा छन् । गोर्खा रेजिमेन्ट भारतको टप रेजिमेन्ट हो । भारतीय सेनाका फिल्ड मार्सल शाम मनिक सउले विस्तृत रूपमा उनीहरूको प्रशंसा गरेका छन् । यो स्तरको सम्बन्धमा भारत सरकारले अहिले चोट लगाइदिएको छ । यसको करेक्सन अनिवार्य छ 

युरोपको संकट व्यवस्थापन --रिचर्ड एन. हास


चिनियाँहरू आफ्नो भाषामा संकट र अवसरलाई बुझाउने शब्द एउटै भएको वेलावेला उल्लेख गर्छन् । निश्चय पनि संकट र अवसर सँगसँगै हिँड्ने भए पनि युरोपको वर्तमान परिस्थितिमा अवसर देख्न मुस्किल छ । 
पहिलो कारण, युरोपले सामना गरिरहेको यो परिस्थिति किन कठिन छ भने यो अनपेक्षित थियो । अचानक आएको संकटले युरोपको राजनीतिक, आर्थिक र रणनीतिक भविष्य असाध्यै अनिश्चित देखिन्छ ।
दु:खी हुनुपर्ने अर्को कारण के हो भने युरोपले एउटा मात्र होइन, धेरै संकटको सामना गरिरहेको छ । पहिलो हो, आर्थिक । अहिलेको सुस्त वृद्धि निरन्तर रहने देखिन्छ । फलत: त्यसले लगानीलाई निरुत्साहित गर्छ । यो महादेशभरि वामपन्थी र दक्षिणपन्थी दुवैतिर लोकप्रियतावादी राजनीतिक दलको उदयले बढ्दो निराशा र त्रासलाई देखाउँछ ।
साझा आर्थिक नीतिविनै साझा मुद्रा सुरु गर्ने दशकअघिको निर्णयले युरोपको अर्थतन्त्रलाई अझ खराब बनायो । कैयौँ देशमा राष्ट्रियस्तरमा अनुशासन नै विलुप्त भयो, ग्रिस पछिल्लो दुर्घटना हो, तर यो अन्तिम हुने देखिन्न ।
दोस्रो संकट युक्रेनमा रुसको कामकारबाहीबाट उत्पन्न हुन्छ । रुसले क्रिमिया त्याग्ने कुनै सम्भावना छैन र पूर्वी युक्रेन र बाल्टिक क्षेत्रमा उसको नियतलाई लिएर प्रश्नहरू उठिरहेका छन् । यसको परिणाम युरोपमा भूराजनीतिको पुनरावृत्ति हो । यो यस्तो वेला हुँदै छ जब रक्षा खर्च निकै कम छ र सैन्य हस्तक्षेपलाई जनताको सहयोग लगभग छैन ।
तेस्रो र सबैभन्दा डरलाग्दो, मध्यपूर्व र युरोपका अन्य भागबाट ठूलो संख्यामा ओइरिएका आप्रवासीबाट निस्केको परिणाम हो । मानिसको बाढीले युरोपेली सदस्यबीच रहेको दरारलाई बाहिर ल्याइरहेको छ । यसले लामो समयदेखि युनियनको मान्यता रहिआएको खुला सिमाना र चहलपहलको सिद्धान्तबारे प्रश्न खडा गरेको छ ।
जर्मनी र अन्य केही राष्ट्रले यो चुनौती सामना गर्न चालेका कदम प्रशंसनीय छ, तर दिगो छैन । अहिले एक दिनमै आठ हजारजति शरणार्थी जर्मनी प्रवेश गरिरहेका छन् । यसमा थोरै तिनका देशमा रहेको कठिन अवस्थाले काम गरेको छ भने थोरै जर्मनीको तिनलाई लिने रुचिले । तिनको रेखदेख गर्न, तिनलाई रोजगारी दिन र समाजमा जोड्न छिटै नै भौतिक क्षमता, आर्थिक साधनस्रोत र आमसहिष्णुताको अभाव हुनेछ ।
निश्चित रूपमा सार्वजनिक नीति शरणार्थी संकटको कारणभन्दा परिणाममा केन्द्रित भयो भने त्यो सफल हुन्न । डमास्कस (सिरियाको राजधानी) मा नयाँ सरकार गठनले सबैभन्दा ठूलो सकारात्मक प्रभाव पार्ने थियो । यो प्रस्ताव सिरियाली जनताको ठूलो हिस्सा र अमेरिका तथा युरोपका साझेदारलाई स्वीकार्य थियो । दुर्भाग्य, यो स्थिति रुस तथा इरानको आशीर्वादबाट मात्र सम्भव छ । तर, ती शक्ति राष्ट्रपति बसर अल–असदलाई हटाउनतिर होइन, उनलाई थप सहयोग गर्न ढल्किएका छन् ।
यद्यपि, अरू केही कदमले परिस्थितिमा सुधार ल्याउन सक्छ । ठूलो संख्यामा शरणार्थी झेलिरहेका युरोप र मध्यपूर्वका देशलाई बढ्दो अन्तर्राष्ट्रिय वित्तीय सहयोग एउटा हो । त्यस्तो सहयोगले अरू देशलाई जर्मनीको मोडल अनुसरण गर्न प्रेरित गर्नेछ ।
अर्को महत्त्वपूर्ण विकास सिरियाभित्र सुरक्षित क्षेत्र निर्माण गर्नु हो ताकि मानिसले थोरै भए पनि सुरक्षित महसुस गर्न सकून् । ती क्षेत्रलाई अमेरिका र अन्यको समर्थनसहित कुर्दिस शक्ति र निश्चित अरब जातिको स्थानीय सहयोग आवश्यक पर्नेछ ।
सिरियामा जिहादीको भर्ती र उत्तरतिर लागिरेहका शरणर्थी रोक्न टर्कीसँग नयाँ बृहत् प्रबन्ध पनि आवश्यक पर्छ । आफ्ना सीमामा बृहत् नियन्त्रण सुनिश्चित गरेबापत टर्कीले आर्थिक तथा सैन्य सहयोग प्राप्त गर्नेछ ।
अमेरिकासँग सहयोग गर्नुपर्ने विशेष दायित्व छ । यो शरणार्थी विस्फोटका लागि अमेरिकी विदेशी नीति पनि कम जिम्मेवार छैन ।
जर्मनी र युरोपलाई यो संकटको सामना गर्नुमा अमेरिकाको रणनीतिक स्वार्थ पनि छ । युरोपले अझै पनि विश्व अर्थतन्त्रको एकचौथाइ ओगट्छ र यो अमेरिकाको भूराजनीतिक साझेदार पनि हो । अथाह चुनौती भोगिरहे युरोपले न प्रभावकारी सहयोग गर्नेछ, न त्यसो गर्न इच्छा राख्नेछ । (हास अमेरिकास्थित काउन्सिल अन फरेन रिलेसन्सका अध्यक्ष हुन्) 

अमेरिकी नीतिको असफलता -लरेन्स कोर्ब


गत महिना अमेरिकाबाट तालिम र हतियारप्राप्त सात हजारको अफगानी सुरक्षा फौजले अफगानिस्तानको उत्तरी सहर कुन्दुज जोगाउन नसकेको समाचार चर्चामा रह्यो । यद्यपि, यो अमेरिकी तालिम प्राप्त विदेशी सेनाको आफैँ लड्नसक्ने अक्षमताको निरन्तरता मात्रै हो । बासिङटनले गतवर्ष इराकमा यस्तो परिणाम भोगिसकेको थियो । अमेरिकाले इराकी बललाई तालिम दिन र हतियारबद्ध गर्न २५ अर्ब अमेरिकी डलर खर्च गर्‍यो । तर, इराकी बलले त्यहाँ आफ्ना हतियार फाल्यो र दुई मुख्य सहर मोसुल र रामादी आइएसका लडाकुलाई बुझाइदियो । आठ सयदेखि एक हजारको बीचमा रहेको आइएस लडाकुले ३० हजार इराकी सेनालाई हराइदियो ।
यस्तो १९७५ मा भियतनाममा पनि भएको थियो । त्यहाँ, अमेरिकाद्वारा तालिमप्राप्त र हतियारबद्ध दक्षिण भियतनामी सेना उत्तरी भियतनामीको आक्रमणमा तहसनहस भयो । अन्तत: उक्त देश कम्युनिस्टहरूको हातमा पुग्यो ।
अहिले त्यस्तै हविगत सिरियामा पनि देखिरहेका छौँ । अमेरिकाले तालिम दिएका सिरियाका सेना आइएसविरुद्ध लड्नुको सट्टा अलकायदाको शाखा अल नुस्रा समूहमा छिरिरहेका छन् । यी हारले अमेरिकी नीति–निर्मातालाई दुइटा प्रश्न उठाउनुपर्छ : किन यस्तो हुन्छ ? हामी किन त्यही दोहोर्‍याउँदै फरक परिणाम खोज्छौँ ?
पूर्व सुरक्षा सचिव रोबर्ट गेट्सजस्तै केही मानिस अमेरिकी सेना प्रभावकारी तालिम दिन सक्षम र इच्छुक दुवै नभएको तर्क गर्छन् । तर, यो सत्य होइन । अमेरिकी साना अफिसरहरू अमेरिकी युवक तथा युवतीलाई सदैव तालिम दिइआएका छन् र तिनलाई १२ हप्तामै कुशल लडाकु बनाउँछन् ।
अमेरिकी तालिमप्राप्त विदेशी सेना सामान्यतया नटिक्नुमा तिनीहरूलाई राम्ररी तालिम नदिइएको वा कमसल हतियार भएर होइन । वास्तवमा, उनीहरूसँग प्राय: राम्रो हतियार हुन्छ र तिनले विपक्षीभन्दा निकै विस्तृत तालिम पाएका हुन्छन् ।
ती असफल हुनुको मूल कारण मूलत: ती प्रेरित नहुनु हो । युद्धमैदानमा सैन्य सफलता लडाकुहरू आफ्नो सरकारप्रति विश्वास गरी लड्न र मर्न तत्पर छन् कि छैनन् भन्नेमा निर्भर गर्छ । युद्ध जित्न लडाकुले उत्तम तालिमभन्दा बढी तिनको सरकारले आफ्ना सबै नागरिकको हित रक्षाका लागि काम गरिरहेको छ भन्ने विश्वास गर्नुपर्छ ।
इराकी र दक्षिण भियतनामी सेनाले आफ्ना सरकारप्रति विश्वास गरेनन्, न अफगानिस्तानका आजका लडाकुले गरे । ती सेना आफ्ना सरकारलाई अक्षम, भ्रष्ट र पक्षपाती मान्छन् । अर्को शब्दमा भन्दा ती लडाकुले ती सत्ताको रक्षा गर्न आफ्नो जीवन दिन योग्य मानेनन् ।
यस्तो प्रेरक समस्या थाहा पाउँदा–पाउँदै अमेरिका किन विदेशी बललाई तालिम दिइरहन्छ ? उत्तर सरल छ : यसो गरेर बासिङटन कहिल्यै सामेल हुनु नपर्ने युद्धमा समावेश भएबापत उत्पन्न संकटलाई टार्न सक्छ । र, अमेरिका आफ्ना उद्देश्य प्राप्त भए भनेर बहाना बनाउन सक्छ । 
उदाहरणका लागि भियतनामभित्र पाँच लाख सेना र समग्र युद्धमा १२ लाख मानिस संलग्न हुँदाहुँदै पनि १९६८ पछि अमेरिका दक्षिण भियतनामलाई स्वतन्त्र बनाउने उद्देश्य हासिल गर्न सक्दैन भन्ने प्रस्ट भइसकेको थियो । त्यसपछि अमेरिकाले बिस्तारै आफ्ना सेना फिर्ता गर्न थाल्यो र उसले तालिम दिएका दक्षिण भियतनामी बललाई अघि सार्न थाल्यो । निक्सन प्रशासनले पाँच वर्षपछि पेरिस शान्ति सम्झौता गरी सम्पूर्ण अमेरिकी सेना औपचारिक रूपमा फिर्ता गर्‍यो र सम्पूर्ण युद्ध दक्षिण भियतनामी सेनाको हातमा छोडिदियो । अमेरिकाले ती सेना आफ्नो देशको रक्षा गर्न सक्षम भएको बतायो ।
कागजमा त ती सक्षम थिए । तर, निक्सन प्रशासनले दक्षिण भियतनामी सेनालाई तालिम दिनुको मुख्य कारण अमेरिकी फिर्तीबारे तर्क गर्न र ६० हजार अमेरिकीको बलिदान एवं पाँच लाखको अंगभंगको पुष्टि गर्नु थियो । १९७३ मा पेरिस सम्झौतामा हस्ताक्षर गर्दा उनले यसलाई ‘सम्मानसहितको शान्ति’ भनेका थिए । उत्तरी भियतनामीले १९७५ को मार्च १९ मा आक्रमण सुरु गरेपछि दक्षिण भियतनामी सेना अमेरिकी र स्वयं उत्तरी भियतामीले सोचेभन्दा छिटो धाराशयी भयो । दक्षिणी भियतनामी सेनाका केही युनिटमा रहेको कमजोर नेतृत्व एउटा मुख्य कारण त थियो तर मुख्य कारण तिनीहरूले उत्तरी भियतनामी कम्युनिस्टहरूसँग रहेको विजयको अभिलाषालाई भेट्नै सकेनन् । धेरै दक्षिणी भियतनामी सेना त अमेरिकी फेरि उद्धार गर्न आउला भन्ने आशा गरी बसे ।
त्यसैगरी इराकमा जब उपराष्ट्रपति डिक चेनी र रक्षासचिव डोनाल्ड रम्सफेल्डले बाचा गरेजस्तो हस्तक्षेप सफल भएन, तब अमेरिकी सेनाले मूर्खतापूर्ण तरिकाले इराकी सेना विघटन गरिदियो । अतिक्रमणको केही सयमपछि नै बासिङटनले नयाँ इराकी बललाई तालिम दिनुपर्‍यो । त्यसो नगरेको भए अमेरिकाले लामो समयसम्म इराकलाई धान्नुपथ्र्यो ।
दुर्भाग्य अल कायदा, जुन पछि आइएसमा परिणत भयो, को उदयपछि अमेरिकाले अरू पाँच वर्ष सेना फिर्ता गर्न पाएन । छोड्ने वेला उच्च तालिमप्राप्त पाँच लाख इराकी सैन्य बल बनाएको भनिएको थियो । अफगानिस्तानमा पनि त्यही हालत छ । तालिवानले ओसामा विन लादेन र उसको अल कायदा शक्तिलाई हटाउन नमानेपछि अमेरिकासँग त्यहाँ हस्तक्षेप गर्नु र तालिवानलाई शक्तिबाट हटाउनुको विकल्प थिएन । तर, यो काम फत्ते गरेपछि बासिङटनले ‘साम्राज्यहरूको चिहान’ मानिएको अफगानिस्तानमा स्वतन्त्र र स्थिर सरकार बनाउने निर्णय गर्‍यो ।
त्यसका लागि बलियो सैन्य बल बनाउन तालिम सुरु गर्नुपर्छ भन्ने अमेरिकी सेनालाई थाहा थियो ताकि उनीहरू पाकिस्तानमा पुनर्संगठित भइरहेका तालिवानविरुद्ध लड्न सकून् । अहिले त्यहाँ अमेरिकाले तालिम दिएको तीन लाखको बलियो अफगानी सैन्यबल छ ।
तर, त्यति धेरै तालिम प्राप्त र आधुनिक हतियारले सुसज्जित बल तालिवानविरुद्ध लड्न सकिरहेको छैन । अमेरिकीहरू शताब्दीआँैदेखि बहादुर लडाकुका रूपमा चिनिएका छन् तैपनि अमेरिकी तालिमप्राप्त सेना जित्न सकिरहेका छैनन् । मुख्य कारणचाहिँ धेरैको सैन्यबल परित्याग हो । त्यसका अतिरिक्त धेरै अधिकृत नै केन्द्रीय सरकारभन्दा आफ्ना जाति तथा समूहप्रति बफादार हुनु पनि हो । उनीहरू केन्द्रीय सरकार भ्रष्ट र अक्षम भएको पनि ठान्छन् । 
विदेशी सेनालाई सफलतापूर्वक तालिम दिनसक्ने अमेरिकी खुबीमा शंका गर्ने कुनै एक व्यक्ति छ भने त्यो ओबामा हो । उनले इराक र अफगानिस्तानमा हजारौँ सेना राखिराख्नुपर्ने धेरैको मागको प्रतिवाद गरे । तर, आज तिनै ओबामा सिरियामा विद्रोही सेना तयार पार्ने र तिनलाई तालिम दिने कुरा गरिरहेका छन् । त्यो केवल कल्पना हो ।
(रोनाल्ड रेगनको राष्ट्रपतिकालमा उपरक्षासचिव रहेका कोर्ब ‘सेन्टर फर अमेरिकन प्रोग्रेस’ का वरिष्ठ अध्येता हुन् ।) 

मधेस आन्दोलन र भारत -आनन्द स्वरुप बर्मा


नेपालमाथि भारतले लगाएको यो नाकाबन्दी पहिलो र अन्तिम होइन । तर, पछिल्लो नेपाली पुस्ताले देखेकोचाहिँ यो पहिलो घटना हो । सन् १९८९ मा राजीव गान्धी सरकारले लगाएको नाकाबन्दी एक वर्षभन्दा बढी समय चल्यो । त्यो समयमा सञ्चारका साधन अहिलेजति जबर्जस्त थिएनन् । अहिलेजस्तो फेसबुक, ट्विटर, ब्लग, वेबसाइट थिएनन् । त्यसकारण अहिले नाकाबन्दीको चर्चा पहिलेजस्तो नेपाल र भारतमा मात्रै सीमित छैन, विश्वभर भइरहेको छ । यो कुनै पनि सभ्य समाज, सभ्य सरकार र आधुनिक सरकारका लागि शोभा दिने विषय होइन । त्यसकारण भारत सरकारको स्वाभाविक निन्दा भइरहेको छ । यस्तो देश जसले दक्षिण एसियाको एक सुपरपावर बन्ने हैसियत राख्छ, जसले संयुक्त राष्ट्रसंघमा स्थायी सदस्य बन्ने हैसियत राख्छ तर छिमेकी देशमाथि नाकाबन्दी लगाउँछ । यो समस्त भारतवासीका लागि पनि चिन्ताको विषय हो । विगतका सत्ताधारीले पहाड र मधेस तराईका जनताबीचको फाटोमा शासन गर्दै आएका थिए । अहिले पनि बहुत सुनियोजित ढंगले भारत र नेपालका सरकारले पहाडी र मधेसी जनताबीच अन्तरविरोध बढाउने काम गरिरहेका छन् । जस्तो, राजतन्त्रले तराईका जनतामाथि विभेद बढाइदियो । जसका कारण उनीहरूले सत्तामा भागेदारीको सवालदेखि दैनिक जीवनमा विभेद झेल्नुपरेको थियो । मधेसीभित्र अहिले जुन चिन्ता र आक्रोश छ, त्यो जायज हो । यसको जड बडो गहिरो छ । भारत पनि यो मामिलामा कहिल्यै संवेदनशील रहेन । किनभने भारतलाई यस्तो लागेको थियो कि आधा आवादीमा रहेका जनतामार्फत् नेपाल सरकारलाई प्रभावित पार्न सहज छैन ।

यो अन्तरविरोधबाट अग्रगामी शक्ति, प्रगतिशील शक्तिलाई होइन, प्रतिगामीलाई फाइदा पुगेको छ । यस्तो बढी आवादीको बीचमा अन्तरविरोध बढ्नु प्रगतिशीलहरूलाई फाइदा हुँदैन । एमाओवादी, जसले समग्र संरचनामा आमूल परिवर्तनको नारा लिएर अघि बढेको थियो, उसलाई लाग्यो कि यो अन्तरविरोधको अन्त्य गर्न जरुरी छ । माओवादीको दश वर्षको जनयुद्धका क्रममा मधेस मात्र होइन, दलित, जनजाति, महिलाको मानसिक स्थितिमा गुणात्मक परिवर्तन आइसकेको थियो । उनीहरूमा चेतना र अपेक्षा, आत्मविश्वास पैदा भयो । उनीहरूलाई लाग्यो, सत्तासंरचनामा हामीलाई पनि हिस्सेदारी चाहिन्छ । लडेरै भए पनि यो हिस्सेदारी लिइन्छ । यो तागतको पछाडि माओवादीको जनयुद्ध थियो ।
तर, यो भुल्नु हुँदैन कि मधेसमा पनि शोसक र शोषित छन् । छुवाछुत छ । बिहारमा जस्तै महिलालाई बोक्सी बनाएर यातना दिने, बालविवाह, दाइजोप्रथाजस्ता अन्धविश्वास मधेसमा व्याप्त छ । यो अन्त्यका लागि माओवादीले वर्गीय आन्दोलन सुरु गरेको थियो । पहाड र मधेसका उत्पीडित वर्गले एकैखालका पीडा झेलिरहेका छन् । दुवै क्षेत्रका उत्पीडितको सहकार्यले मात्रै साम्प्रदायिक अन्तरविरोध कम गर्न सक्छ । त्यसकारण मेरो पूरै सहानुभूति मधेसका जनताको आन्दोलनमा छ । तर, आन्दोलनका नेतृत्व लिइरहेका व्यक्तिमध्ये एक–दुईजनाबाहेक बाँकी सबैले जनयुद्धपछिको सरकारको हिस्सा लिएका छन् । उनीहरूले मधेसका जनताका लागि के–के गरे, जनताले बताउनेछन् । यस्ता नेताप्रति सहानुभूति जरुरी छैन । खस आर्य मानसिकताका नेतालाई म भनिरहेको छु, मधेसका जनतालाई न्याय नमिलेसम्म, उनीहरूको माग सम्बोधन नभएसम्म तपाईंहरू शासनमा टिक्न सक्नुहुनेछैन ।
देशको सम्पदामा बढी हिस्सेदारी मधेसको छ, जसले बढी राजस्व दिइरहेको छ । मधेसीहरू सोचिरहेका छन्, यसबापत् हामीलाई के चाहिँ मिलेको छ ? उनीहरूको यो सोच जायज हो । यो ठूलो समस्या हो । सरकारमा रहेकाहरूले मधेसी जनताको मागलाई सम्बोधन गर्नुपर्छ । संविधानमा मधेसी जनताको असन्तुष्टि तत्कालै सम्बोधन गर्नु जरुरी छ । यो इगोको लगाइँ होइन, जनताको जायज मागको लडाइँ हो ।
भारतको संलग्नता
भारतको सत्ताधारी वर्ग चाहे नरेन्द्र मोदी हुन् वा मनमोहन सिंह, उनीहरू कहिल्यै नेपालमा माओवादी विचारधारा जीवित रहोस् भन्ने चाहन्नन् । नेपालमा जुन यथास्थिति, सामाजिक संरचना चलिरहेको छ र यसमा एक वर्गले लुट मच्चाइरहेको छ, भारतले यो बदलेर नयाँ संरचना बनाउन चाहँदैन । त्यसकारण नेपालको संरचनागत परिवर्तनका राजनीतिक नेतृत्वकर्ता भारतीय सत्ताधारीका शत्रुजस्ता छन् । अहिले आरएसएसको समर्थनप्राप्त नरेन्द्र मोदीको सरकार विगतको अटल विहारी बाजपेयी सरकारभन्दा भिन्न छ । बाजपेयी सरकारको पछाडि आरएसएसको प्रभाव थिएन, अहिले आरएसएस चिफ मोहन भागवतको जबर्जस्त प्रभाव मोदी सरकारमाथि छ । मोदी अगाडि छन्, सरकारको सबै नीति राष्ट्रिय स्वयंसेवक संघले सञ्चालन गरिरहेको छ । आरएसएस स्पष्ट छ, नेपाल हिन्दुराष्ट्र हुनुपर्छ । नेपाललाई हिन्दुराष्ट्रको दर्जा दिलाउनु उनको धर्म हो । अक्टोबर २ तारिखमा नयाँ पत्रिका दैनिकमा प्रकाशित भाजपा नेता भगतसिंह कोस्यारीको अन्तर्वार्ता यसको प्रमाण हो । कोसियारीले अन्तर्वार्तामा भनेका छन् कि उनले प्रचण्डसँगको लामो बातचितका क्रममा ‘तपाईं हिन्दुराष्ट्र त बनाउनुहुन्न तर नेपालको संविधानमा धर्मनिरपेक्षता नराख्नुहोला ।’ कोस्यारीका अनुसार विदेशमन्त्री सुष्मा स्वराजको पनि धारणा यही हो । प्रचण्डले पनि बीचको केही शब्द हेरौँला भनेका थिए ।
अर्को पनि उदाहरण छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपाल भ्रमणमा जाँदा संविधानसभामा र दोस्रोपटक सार्क सम्मेलनमा जाँदा भनेका थिए, नयाँ संविधान आमसहमतिमा बन्नुपर्छ ।’ नेपालको संविधानसभामा पूर्ण सहमतिले संविधान बन्ने सम्भव छँदै थिएन । किनभने २४ सदस्य संख्या रहेको राप्रपा नेपाल पनि संविधानसभामा थियो, जो गणतान्त्रिक संविधानलाई स्वीकार गर्ने अवस्थामा थिएन । त्यसकारण सर्वसम्मति सम्भव थिएन । अब आमसहमतिबाट जानुपर्छ भन्ने भयो । यसको मतलब हो, संविधानसभाको ८० प्रतिशतभन्दा ज्यादा सहमति होस् । नयाँ संविधानमा ९१ प्रतिशतले हस्ताक्षर गरेका छन् । यसलाई तपाईं आमसहमति मान्नुहुन्न । विदेश सचिव संविधान जारी हुनु दुई दिनअघि काठमाडौं गएर भन्छन्, ‘केही दिन रोक्नुस्, तत्काल जारी नगर्नुस् ।’ विदेश सचिवको भनाइ थियो, ‘किनभने मधेसको मुद्दालाई सम्बोधन भएन ।’ जबकि ठूला पार्टीले भनिरहेका थिए कि संविधान बनेपछि पनि सहमतिका आधारमा मधेस मुद्दा सम्बोधन गर्छौं । संविधान संशोधन गर्छौं । भारतीय सरकारको यो अभ्यासको उद्देश्य स्पष्ट थियो कि संविधान नबनोस् । उसले बाहिर संविधान जारी हुनुपर्छ भनिरहेको थियो, तर वास्तविक रूपमा नयाँ संविधान जारी गर्ने पक्षमा भारत सरकार थिएन ।
एमाओवादीको त्रास र अवसर
संविधान नबनेको अवस्थामा एमाओवादी कमजोर हुन्छ वा समाप्त हुन्छ भन्ने भारतको बुझाइ थियो । २००८ देखि नै संविधान बन्नका लागि ढिला भइरहेको थियो र परिणामस्वरूप माओवादी निरन्तर विभाजित भइरहेको थियो । जस्तो, मोहन वैद्य किरण अलग भए, नेत्रविक्रम चन्द विप्लव बाहिरिए । जनताको नजरमा एक निराशा पैदा भइरहेको थियो किनभने संविधानसभा माओवादीको प्रमुख नारा थियो तर संविधान बन्न सकेको थिएन । संविधानसभामा एमाओवादी तेस्रो नम्बरको पार्टी थियो, अब झन् कमजोर होस् भन्ने भारत सरकारको चाहना थियो । यसलाई एमाओवादीले खतराको घन्टी बजेको अर्थमा लिएको थियो । यसकारण आफ्नो रक्षाका लागि पनि एमाओवादीलाई संविधान बनाउनु जरुरी थियो । यो कुरा प्रचण्ड र बाबुराम भट्टराई दुवैले महसुस गरेका थिए । तर, अहिले बाबुरामजी पार्टीमा छैनन् । म यसकारण बाबुरामजीको नाम लिइरहेको छु कि उनी संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति थिए । दुवैलाई थाहा थियो कि यो संविधान अन्तरिम संविधानजत्तिको पनि प्रगतिशील छैन । मधेसी जनताको समस्याको समाधान ठीक ढंगले भइरहेको छैन भन्ने कुरा प्रचण्ड–बाबुरामलाई थाहा थियो । पहिलो संविधानसभामा जस्तो जबर्जस्त हैसियत थिएन भन्नेमा पनि उनीहरू स्पष्ट थिए ।
दक्षिण एसियाको पहिलो अभ्यास
यो संविधानसभा र संविधान निर्माण प्रक्रिया दक्षिण एसियाकै पहिलो र अनौठो अभ्यास थियो । जनताद्वारा प्रत्यक्ष निर्वाचित सभासदद्वारा संविधान बनेको थियो, जहाँ समानुपातिक निर्वाचन प्रणालीबाट पनि प्रतिनिधि चुनिएका थिए । सबैको प्रतिनिधि संविधान निर्माण प्रक्रियामा सामेल हुनु बडो अनौठो र उत्कृष्ट थियो । दोस्रो संविधानसभा पनि असफल भयो भने नयाँ संविधान जनचाहनाका आधारमा कहिल्यै पनि बन्ने अवसर आउनेवाला थिएन । भारतका प्रतिगामी र यथास्थितिवादी ताकतका लागि उत्पीडित वर्गको सिकार गर्न नयाँ संविधान नबनेको अवस्था ठूलो खुल्लामञ्च हुनेवाला थियो । त्यसकारण बन्न जरुरी थियो, बन्यो ।
नयाँ संविधान जारी भएको भर्खरै तीन साता बितेको छ । कुनै पनि चिज यति चाँडै कमजोर वा बलियो हुँदैन । संविधान बनेको वा नबनेको दुवै अवस्थामा नेपालमा समस्या हुनेवालै थियो । नेपालमा परिस्थिति सहज थिएन । समस्या नबन्दाको अवस्थामा उत्पन्न हुने समस्या समाधानका लागि दलहरूलाई सहज अवस्था थिएन । यो कुनै पनि दलहरूका लागि ठूलो संकट थियो । अहिले संविधान बनेपछि उत्पन्न समस्या समाधान नबन्दाको भन्दा सजिलो छ । प्रमुख पार्टीले कुशलतापूर्वक नेतृत्व क्षमता प्रदर्शन गर्ने वेला यही हो ।
मधेसका माग र मुद्दा
अहिलेको प्रमुख विवाद सीमांकन र स्वायत्तताको हो । संघीय संरचना आफैँ स्वायत्त हुन्छन् । भारतमा जति पनि राज्य छन्, लगभग सबै स्वायत्त छन् । रक्षा, मुद्रालगायत केही मामिलाबाहेक सबै अधिकार राज्यसँग हुन्छ । राज्यका लागि भविष्यमा आवश्यक विशेषाधिकारको मुद्दा ठूलो होइन । भाषाको पनि सवाल जायज छ । नेपालको नेतृत्वले बुझ्नुपर्छ कि कुनै पनि भाषा जबर्जस्त थोपर्नु आवश्यक छैन । बहुभाषिक देशमा नेपाली भाषा नै जारी गर्नु न्यायसंगत हुँदैन । संविधानमा यससम्बन्धी प्रावधानलाई सच्याउँदा हुन्छ, मधेसीहरूको यसमा माग जायज हो ।
मैले २६ सेप्टेम्बरमा उपेन्द्र यादवजीसँग टेलिफोनमा कुराकानी गर्ने क्रममा विस्तृत माग सोधेको थिएँ । उपेन्द्रजीले सारा मागका बारेमा मलाई बताउनुभएअनुसार मलाई लाग्यो कि नागरिकताबाहेकका माग पूरा हुन नसकिने खालका छैनन् । विदेशीसँग विवाह गर्ने केटीको नागरिकतासम्बन्धी नेपालको मामिला उसको आफ्नै हो । यो देशको आफ्नो मामिला हो, जसबारे असन्तुष्ट पक्षसँग बसेर हल गर्न सकिन्छ । यसमा यो नै गर्नुपर्छ भन्ने जरुरी छैन किनभने नागरिकताका विषयमा हरेक देशको आफ्नै नियम हुन्छ ।
कतिपय विश्लेषक भनिरहेका छन् कि अहिले नेपाल र भारतमा देखिएको असन्तुष्टिको कारण बिहारको चुनाव हो । मधेसी राजनीतिको असर भारतको बिहारमा पर्ने विश्लेषण भइरहेको छ । नेपालको मधेसका कारण बिहारको चुनावमा ठूलो असर पर्नेवाला छ भन्ने मलाई लाग्दैन । रक्सोलमा भाजपानिकटका एक व्यापारीले मधेसी आन्दोलनकारीलाई खाना खुवाइरहेको समाचार इन्डियन एक्सप्रेसमा प्रकाशित भएको थियो । म स्पष्ट छु कि यदि भारतका सुरक्षा एजेन्सीले नचाहने हो भने नाकाबन्दी अन्त्य हुन एक दिन पनि लाग्ने थिएन । किनभने आन्दोलनमा सक्रिय केही महत्त्वपूर्ण भनिएका नेतागण भारतको इसारामा काम गरिरहेका छन् । भारतले वार्तामा जान दबाब दिनासाथ सकिन्छ । खुल्लामञ्चमा मैले प्रचण्ड, केपी ओलीजीको भाषण सुनिरहेको थिएँ । उनीहरूले संविधान संशोधन गर्ने वचन व्यक्त गरिरहेका थिए । यदि माग पूरा भएन भने त आन्दोलन गर्ने अवसर हमेसा हुन्छ नै । अहिले भएको नाकाबन्दीको असर सारा नेपालीहरूको मनमा सधैँ गढिरहन्छ ।
नेतृत्वको दायित्व
मधेसी र पहाडीबीच चर्काइएको अन्तरविरोधमा आगो लगाएर होइन, समन्वय गरेर सद्भाव कायम गर्ने दायित्व नेतृत्वको हो । यसमा मधेसी नेतृत्वको सजगता पनि उत्तिकै जरुरी छ । नेपालको संविधानमा संशोधन गरेर सम्बोधन नहुने कुनै पनि माग छैनन् । तर, बातचित यसको पूर्वसर्त हो । म मधेसका जनतालाई भनिरहेको छैन कि उनीहरू भारतीय इसारामा चलेका छन् । तर, केही नेतृत्व भारतको इसारामा काम गरिरहेका छन् । यो नेपाल र भारत दुवैका लागि दीर्घकालीन नोक्सान हो । यदि अन्तरविरोध बढ्ने हो भने नेपाल पुन: एकपटक प्रतिगमनको चंगुलमा फस्ने चिन्ता छ ।

Tuesday, February 3, 2015

शासनसत्ता शाहवंशबाट बाहुनवंशमा मात्रै सरेको छ

  • रामाशीष, वरिष्ठ भारतीय पत्रकार
करिब पाँच दशक अघि पत्रकारिता पेसाको सिलसिलमा नेपाल आएका रामाशीष वरिष्ठ भारतीय पत्रकार हुन् । उनी सन् १९५३ मा मुजफ्फरपुरको प्रकाशन संस्था पुस्तक भवनको प्रकाशन गृहको नेपालको वीरगञ्ज र काठमाडौं शाखा प्रमुख भएर काठमाडौं आएका थिए । उनले काठमाडौंमा पहिलो पटक आउँदा देवभूमिमा प्रवेश गरेको महसुस गरेका थिए । उनलाई नेपालको राम्रो पक्ष नेपालको मन्दिरमा हिन्दू र बौद्धमार्गीहरूले पूजा गरेको लाग्थ्यो । नेपालको नराम्रो पक्ष रक्सी, जुवा र वेश्यावृत्ति ठान्छन्, उनी । 
नले गोहत्या निरोध समितिले प्रकाशन गरेको ‘सावधान’ नामक सन्ध्याकालीन दैनिक पत्रिकामा आबद्ध भएर पत्रकारिताको कखरा सिके । पत्रकारिता पेशाप्रतिको लगावको फलस्वरूप सन् १९६७ सेप्टेम्बर २२ तारिखदेखि ‘हिन्दुस्थान समाचार संस्था’मा कार्यरत भए । सोही संस्थाको ब्युरो प्रमुख भई १९७१ को फेब्रुअरीमा काठमाडौं आए । उनले ९ जुलाई १९७३ को रात सिंहदरबारमा आगलागी भएको घटनालाई प्रजातान्त्रिक आन्दोलनसंग जोडेर समाचार पठाएपछि भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशन प्रशारण गरेका थिए । त्यही समाचारका कारण तत्कालीन श्री ५ को सरकारले उन्लाई देशनिकाला गरे । त्यसपछि उनले सन् १९७८ सम्म दिल्लीस्थित प्रधान कार्यालयमा र पटना कार्यालयमा रहेर पत्रकारिता पेशालाई निरन्तरता दिइरहे । सन् १९८४ मा राजीव गान्धी प्रधानमन्त्री बनेपछि विभिन्न आरोप लगाएर हिन्दुस्थान समाचार संस्थालाई तालाबन्दी गरियो । उनी फेरि नेपाल फर्के । हिन्दुस्थान समाचार संस्थामाथि लागेको तालाबन्दी भारतको भारतको सर्वोच्च अदालतको आदेशले १९ वर्षपछि खुल्यो । प्रतिबन्ध हटेपछि सन् २००४ देखि उक्त संस्थामा विशेष संवाददाताका रूपमा पत्रकारिता पेसामा निरन्तर लागी रहेका छन् । नेपाल र भारतको  लोकतान्त्रिक आन्दोलनलाई पत्रकारिता पेशाको माध्यमबाट योगदान दिने लोकतान्त्रिक सेनानी भनिने, नेपालको गाउँघर शहरबजार घुमीफिरी नेपाललाई चिनेका उनै वरिष्ठ भारतीय पत्रकार रामाशीषसंग नेपालको राजनीतिमा पछिल्लो पटक घटेको घट्णाक्रमसंग सम्बन्धित रहेर गरेको कुराकानीको सम्पादीत अंशः
० नेपालको अहिलेको राजनीतिक गतिरोधलाई तपाईंले कसरी हेरिरहनु भएको छ ?
नेपालको अहिलेको राजनीतिक गतिरोध डामाडोल र उथलपुथलको स्थितिमा छ । यो गतिरोध सत्ता टिकाइराख्ने चालबाजीको कुरा हो । शाषक वर्ग नेपाली कांग्रेस र एमाले आफ्नो जित सुनिश्चित गर्ने अडानमा यथावत छ । प्रान्तहरू बनेपछि कुनै पनि देशमा टुक्राटाक्री, विखण्डन भएको छ? यस्तो देखिएको छैन । भारतमा त जातको आधारमा पनि आधा दर्जनभन्दा बढी प्रान्तहरू छन् । भाषाको आधारमा पनि प्रान्तहरू छन् । तर भारत टुक्रिएको छैन । नेपालमा शासनसत्तामा बसेको व्यक्तिहरूले सत्तालिप्साको कारणले झुठो अफवाह फैलाइरहेको छ । सङ्घीयता भएर प्रान्तहरू भयो भने देश टुक्रिन्छ । बेकामको हल्लाखल्ला गर्नुको अर्थ उनीहरूले आफ्नो सत्ता टिकाइरहने षड्यन्त्र मात्रै हो । मैले जहाँसम्म थाहा पाएको छु । पश्चिमी नेपाल र पूर्वी नेपालको केही जिल्लाहरू पहाडसंग जोड्ने उनीहरूको प्रयास छ । त्यसको पक्षमा सर्वसाधारण जनता छैनन् । यो उनीहरूको सत्ता टिकाउने दाउ मात्रै हो । मैले त्यहाँसम्म सुनें–केपी ओली पूर्वी तराईको केही क्षेत्रलाई आफ्नो खल्तीमा राख्ने चाहनामा हुनुहुन्छ । उहाँलाई के डर छ भने सङ्घीयता भएर प्रान्तहरू बनेपछि चुनाव भएमा म चुनाव जित्छु कि जित्दिन, मेरो सत्ता कायम रहन्छ कि रहँदैन ।
त्यस्तै पश्चिममा पनि मधेशको दुई तीन जिल्लाहरूलाई पहाडसंग जोड्न खोजी रहेका छन् । त्यहाँको नेताहरूलाई पनि के डर छ भने नयाँ संविधान अन्तर्गत जति अलग प्रान्तहरू बन्छन्, त्यस ठाउँमा आफूहरूले चुनावमा जित्न सकिन्छ कि सकिदैन । अहिले सत्तामा भएकाहरू आफ्नो भविष्य जोगाई राख्न यही सत्तालाई निरन्तरता दिन चाहिरहेका छन् । उहाँहरूले वास्तवमा जनताको सवालको कुरा सुन्ने हो भने त पाँच वटा, सात वटा र दश वटा जति वटा प्रान्तहरू बनाउँदा पनि फरक पर्नेवाला छैन । किनकि अरू देशहरूमा हेरौ न । इजरायलमा ४० लाख जनसङ्ख्या (आवादी) छ । त्यहाँ ७० वटा राजनीतिक दलहरू छन् । तर इजरायल विश्वकै शक्तिशाली देशको रूपमा देखिन्छ । यहाँ नेपालमा सङ्घीय प्रान्तहरू बनाउन केको असुविधा छ त । म थाहा पाउँदिन । विपक्षी मोर्चाका पार्टीहरूले अडान लिइराखेका छन् । मधेशका मधेशीहरू भन्छन् हामीले गुलामीको जिन्दगी बिताइरहेका छौं । गुलामी मुक्तिको आन्दोलन चल्दैछ । यदि समथल भूमिमा भौगोलिक आधारमा प्रान्तहरू बनायौ भने पहाडको पनि विकास हुन्छ, मधेशको पनि विकास हुन्छ । नत्र मधेशमा डर छ, पहाडसँग जोड्ने हो भने मधेशको विकासको सारा बजेट पहाडमा जान्छ । हामीहरू फेरि पनि पडाडको पहिलाको जस्तै गुलामको गुलाम नै बनिरहनेछौ । उनीहरू भन्छन्–अढाई सय वर्ष सामन्तीहरू आए, हामीलाई गुलाम बनाए । त्यो बेलादेखि अहिलेसम्म हामी गुलाम भइरहेका छौ । अब हामी गुलामी गर्न तयार छैनौ । त्यसकारण यो सत्तासीन नेताहरू जति बसेका छन्, तिनीहरूले आफ्नो शासनसत्ता टिकाइराख्न र भविष्यको चिन्ताको कारणले सङ्घीयतामा सहमति भइराखेको छैन । आजभोलि त मूलबासी, दलित, मधेसी, महिला, मुस्लिम मात्र हैन विध्वात बाहुन क्षेत्री र जनपक्षधर मिडियाले पनि नेपालको शासनसत्ता शाहवंशबाट बाहुनवंशमा मात्रै सरेको छ भनिरेका छन् । यो बाहुनवंश सबै पण्डित पुरोहित पार्टीको चर्चा पनि हुने गरेको छ । जस्तो एमालेलाई पण्डित पुरोहित पार्टी, बाहुन बाजे कर्पोरेशन (बीबीसी) भन्ने गरेको पाइन्छ । तराई, पहाड र हिमाल सबैतिर बाहुन क्षेत्रीको बारेमा नकारात्मक नारा लागी रहेको छ । यदि बाहुन क्षेत्री समुदायका मान्छेहरूले राज्यका सबै अङ्गमा एकाधिकार जमाइराख्ने हो भने सबैलाई राज्यको सबै अङ्गमा समानुपातिक समावेशी प्रतिनिधित्व गराउन तयार नहुने हो भने नेपालमा ठूलो सङ्घर्ष हुने सम्भावना देखिरहेको छु ।
० भनेपछि सत्तारुढ दलहरूले सङ्घीयतालाई आफ्नो एकात्मक शासनसत्ता चाँडै गुम्ने अर्थमा लिएका छन् ?
बिलकुल, उनीहरूको मनमा भित्री डर छ । यदि सङ्घीयता बन्यो भने खास गरेर हामी बाहुन क्षेत्री समाजका एकात्मक नेताहरूले कहाँ जाने र हामीले कहाँबाट भोट पाउने भन्ने डर छ । किनकि उनीहरूको भोट एकै ठाउँमा त छैन, टुक्राटुक्रा ठाउँ-ठाउँमा छन् । हामीले जति उपेक्षित उत्पीडित वर्ग समुदायको कुरा गरिराखेका छौ । त्यसलाई उनीहरूले साम्प्रदायिकता फैलायो भन्ने हल्ला गरिरहेका छन् । त्यसमा मलाँई चिन्ता छैन । केको साम्प्रदायिकता? बाहुनजातीय जो शासनसत्ता
मा छ, त्यो त साम्प्रदायिकता भन्दा पनि तल्लोस्तरको भइसक्यो । सम्प्रदाय भन्दाखेरि त सयवटा जातिको सम्प्रदाय हुन्छ । मधेसीभन्दा मधेसी कुनै जात छैन । तर बाहुनभन्दा एउटै बाहुन छ । बाहुनकै सत्ता छ, बाहुनकै सबथोक छ । त्यसकारणले कसैलाई साम्प्रदायिकताको आरोप लगाउँछ भने त्यो त उसको बुद्धिको पराकाष्ठा मात्र हो । सामान्य जनताको उपकार चाहन्छन् भने सबैले लोकतान्त्रिक व्यवस्थामा आउनुपर्छ । समानुपातिक प्रतिनिधित्वको आधारमा देशको शासनसत्ता सञ्चालन हुनुपर्छ । सहमतिको आधारमा संविधान बन्नुपर्छ । यो संविधानसभा छ, यो पार्लियामेन्ट छैन, संसद्को कामको निर्वाह मात्र गर्दैछ । पार्लियामेन्टमा अल्पमत बहुमत गरेर कहीं संविधान बनेको छैन । सहमतिमा भारतको संविधान बन्यो । संविधानमा समय समयमा संशोधन गर्ने प्रावधान राख्नुपर्छ । भारतको संविधानमा ९० पटकभन्दा बढी संशोधन भइसक्यो । देश राम्ररी चल्दैछ । यस्तो व्यवस्था संविधानमा गर्नुपर्छ ।
० नेपालमा आजसम्म विकास नहुनाका कारणहरूमा एक प्रमुख कारण राष्टघाती, भ्रष्टाचारी बाहुन नेताहरू सत्तामा पुग्नु र भारतजस्तो विस्तारवादी छिमेकी हुनु हो भनिन्छ नि ?
बाहुन शासनसत्तामा पुगेको बारेमा सबैलाई थाहा छ, मैले भनिसकें । जहाँसम्म भारतको विस्तारवादको कुरो हो नि, भारतले त जति जमिन पाएको छ नि त्यसैलाई रक्षा गर्न धौधौ भइराखेको छ । भारतले के विस्तारवाद गरिराखेको छ? नेपाललाई पेट्रोल दिने भारतीय विस्तावाद हो । नेपाललाई चामल दिने भारतीय विस्तावाद हो । नेपाललाई औषधी दिने भारतीय विस्तावाद हो । नेपाललाई मसला दिने भारतीय विस्तारवाद हो । नेपालको मान्छेलाई नोकरी दिने भारतीय विस्तारवाद हो । त्यो त हो, त्यो म मान्छु । त्यो विस्तारवाद छ र त नेपालका कथित स्वाभिमानी व्यक्तिहरूले सोच्नुपर्छ । भारतमा अहिले करिब दुई लाख कन्या केटीहरू कस्तो निरीह नारकीय जीवन बम्बईको कोठीमा बिताइरहेका छन् । हिजोकै अखबारमा छ, दुबईमा गत महिना आठ हजार नेपाली चेली वेश्यावृत्तिमा काम गर्न गइरहेका छन् । त्यसमा भारतको विस्तारवाद कहाँबाट आयो ।
नेपालबाट करिब ७० लाख युवाहरू वैदेशिक रोजगारमा गएका छन् । त्यो पनि भारतको विस्तारवाद हो । नेपालका ७५ देखि ८० लाखको हाराहारीमा नेपालीहरू भारतमा रोजगारी गरिरहेका छन् । आवतजावतको कुरा अर्कै हो । त्यो पनि भारतको विस्तारवादको कुरा हो । त्यो त हो, म पनि मान्छु ।
० नेपालमा सुरुमा नै दलाल पार्टीको रूपमा स्थापना भएका नेपाली कांग्रेसजस्तो पार्टीहरू र सत्तामा पुगेपछि राष्ट्रघात गर्ने एमाले र एमाओवादीजस्तो पार्टीहरू छन् भनिन्छ यस बारेमा तपाईं के भन्नुहुन्छ ?
वास्तवमा यो त नारा र नारा मात्रै हो । केको राष्ट्रघात? केको राष्ट्रवाद? राष्ट्रवादी भन्नु भएको भए सबै पार्टीको नेताहरूले महात्मा गान्धीले जसरी एउटा लुङ्गी र गञ्जी लगाएर जीवन बिताउनु पर्थ्यो, त्यो ठाँटको जीवन अरबपतिको जीवन बिताउने थिएन । केको राष्ट्रवाद? राष्ट्रवादमा त नेताहरू जोगी (फकिर) बन्छन् । फकिरी गरेर गान्धीजस्तो बन्नुपर्छ । केको राष्ट्रवाद? अनि राष्ट्रघात पनि केको राष्ट्रघात? बाबा पहिले राष्ट्र बनाऊ न । त्यसपछि पो राष्ट्रघात हुन्छ नि । अहिलेसम्म त नेपाल
मा राष्ट्रको नारा मात्रै छ, राष्ट्र नै बनेको छैन । दुनियाँमा कुनै पनि देशको नागरिक अरू देशको सेनामा काम गर्न गएको छ? नेपालीहरू किन अरूदेशको सेनामा भर्ती भइरहेका छन्? अनि नेपालीहरूको कहाँ गयो राष्ट्रवाद? नेपालका लाखौ नेपाली चेलीहरू नेपाल बाहिर विदेशमा वेश्याको जीवन बिताइरहेका छन् । कहाँ गयो राष्ट्रवाद? राष्ट्रवादको लागि त पहिला राष्ट्र पो बन्नुपर्छ । राष्ट्र बनाउनुहोस् । बाहिर मान्छे पठाउन बन्द गर्नुहोस् । सेनामा जान्छ भने रोक्नुहोस् । एउटा सबल मजबुत राष्ट्र बनाउनुहोस् । त्यसपछि पो राष्ट्रघात हुन्छ । त्यसपछि पो राष्ट्रिय स्वाभिमान हुन्छ । नत्र केको स्वाभिमान ?
० राष्ट्र बन्ने क्रममा सङ्घीयतालाई जोडेर हेर्न मिल्छ कि मिल्दैन ?
सङ्घीयता त आपसको विचार हो । जनताको विचार हो । जनताको तर्फबाट माग आएको छ । किन मिल्दैन? अवश्य जोडेर हेर्न मिल्छ । सङ्घीयतामा राष्ट्रवाद खत्तम हुँदैन । भारतमा पहिले १४ वटा प्रान्तहरू थिए, अहिले ३५, ३६ वटा प्रान्तहरू भइसक्यो । के त्यहाँ राष्ट्रवाद खत्तम भइसक्यो? । रुस, अमेरिकामा सङ्घीयता छ, के त्यहाँ राष्ट्रवाद छैन? । जहाँ जहाँ सङ्घीयता छ त्यहाँ राष्ट्रवाद छैन । एकसेएक राष्ट्रवादीहरू एकजुट भएर सङ्घीय राज्यको रूपमा राष्ट्रहरूको निर्माण गर्न जुटिरहेका छन् ।
० नेपालका राजनीतिक पार्टीहरूमा ‘रअ’ का तलबी कर्मचारीहरू र सहयोगीहरू बहुसङ्ख्यक छ भन्ने गरिन्छ नि ?
वाह ! (छोटो हाँसो हाहाहा...) ‘रअ’ को जुन काम छ । हरेक दूतावासमा सबै डिपार्टमेन्ट छ । ‘रअ’ को मान्छे त्यहाँ पनि होलान् । तर यहाँ नेपालको मान्छेहरू किन ‘रअ’ को पैसा खान्छन्? किन भन्नुहुन्न कि ‘रअ’ को पैसा खान्छौ? ‘रअ’ आखिर भारतको भएकोले भारतको पैसा खाएर राष्ट्रको विरुद्ध किन काम गरेको भन्नुहुन्न? मलाई थाहा छैन कसले कति पैसा खाएर बसिरहेका छन् । म भारतीय हो, मलाई त ‘रअ’ले पैसा दिदैन । म बुढो भइसकें । मलाई त मद्दत गर्दैन भने नेपालीलाई पैसा दिन्छ भन्ने मलाई विश्वास नै लाग्दैन ।
० छिमेकी चीन र भारत नेपालमा कस्तो सङ्घीयता होस् भन्ने चाहन्छन् ?
चीनले प्रष्ट शब्दमा भनिसकेको छ । ‘उसले सङ्घीयता मन पराउँदैन ।’ उसको राष्ट्रपतिले भनिसक्यो– ‘चीन सङ्घीयताको पक्षमा छैन ।’ उसलाई के डर छ भने नेपालको सिमाना तिब्बतको सिमानासँग मिल्छ । नेपालमा सङ्घीयता बन्यो भने मेरो एकाधिकार प्रभाव खत्तम हुन्छ । त्य
हाँका मान्छे आफ्नो विचारमा स्वतन्त्र हुन्छन् ।
सङ्घीयताको पक्षमा नेपाली जनताले भोट दिएका छन् । संविधानसभा बनेको छ । नेपालमा पाँच वटा, १० वटा र २० वटा प्रान्तहरू बनोस् त्यो निर्णय गर्ने नेपाली जनताको अधिकारको कुरा हो । त्यो निर्णय गर्ने भारतको अधिकार हैन । त्यसकारण भारत शतप्रतिशत सङ्घीयताको पक्षमा छ ।
० यसैमा जोडी हालौ, स्वतन्त्र तिब्बतको नारा चीनलाई कमजोर बनाउने पश्चिमाहरूको रणनीति हो भनेर भन्ने गरेको छ नि ?
तिब्बतको समस्या हल भयो भने चीनमा अरू देश पनि बन्ने सम्भावना छ । त्यहाँ मुस्लिम बाहुल्य प्रान्त छ । त्यसले स्वतन्त्रताको माग गर्दैछ । त्यो त डर छ चीनलाई । यदि तिब्बत स्वतन्त्र देश बन्यो भने चीनलाई उसको देशमा धेरै स्वतन्त्र देशहरू बन्छन् भन्ने डर छ । तर, नेपालको गतिविधिले चीनलाई कमजोर बनाउँछ । भारतको गतिविधिले चीनलाई कमजोर बनाउँछ । यो त म मान्दिन । किनकि भारत र चीनको सिमाना धेरै ठाउँमा मिलेको छ । कति भारतीयहरूलाई तिब्बतीहरूसँग काम गर्दा चीनले समात्यो । छैन, कुनै पनि भारतीयलाई आजसम्म चीनले समातेको छैन । भारतले केही बिगारेको छैन । भारतले त तिब्बतलाई चीनको अङ्गको रूपमा मानिसकेको छ । त्यसकारण चीन कमजोर हुने कुरा झुठो दलिल मात्र हो । यसको कुनै अर्थ छैन ।
० विपक्षीहरू सरकार पक्षलाई सहमतिमा संविधान बनाउनका लागि दबाब दिन भनेर सडक आन्दोलनमा लागेका छन् यसबारे तपाईं के भन्नुहुन्छ ?
विपक्षीहरूको आन्दोलनमा दम, तागत र जनतालाई अधिकार दिन सक्ने शक्ति छ । ऊ पनि जनताको प्रतिनिधि हो । उनीहरूले आफ्नो विचारको पक्षमा आन्दोलन कतिसम्म चलाउँछ, कति आन्दोलन सफल हुन्छ, त्यो त भविष्यको कुरा हो । तर उसको मागबारे नेपालका एउटा संविधानविद्ले एउटा गोष्ठीमा भन्यो–अन्तरिम संविधान २०६३ मा चार पाँच ठाउँमा सहमति सहमति... शब्द लिपिबद्ध गरिएको छ । आज किन प्रक्रियामा जाने? अन्तरिम संविधानमा लेखिएको छ कि सबै काम सहमतिमा हुनेछ । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौताले पनि त्यही भन्छ । अहिले आएर केपी ओलीले आफ्नो तागत लगाउनुको अर्थ के? यो केपी ओलीको सत्तालिप्साको स्वार्थ मात्र हो । त्यसकारण सत्तासीनहरूको विरुद्ध अब भीषण आन्दोलन हुने सम्भावना छ ।
० नेपालको लागि उपयुक्त शासकीय स्वरूप कस्तो होला ?
शतप्रतिशत सङ्घीय लोकतान्त्रिक गणराज्य हुनुपर्छ । चाहे संसदीय शासकीय स्वरूप होस्, चाहे मिश्रित (फ्रेञ्च मोडेल) शासकीय स्वरूप होस्, चाहे सहमतीय (स्विस मोडेल) शासकीय स्वरूप होस् । तर नेपाली विशेषता अनुरूपको लोकतान्त्रिक शासन व्यवस्था र सङ्घीय गणराज्य नेपालको लागि उपयुक्त शासकीय स्वरूप होस् ।
० प्राकृतिक स्रोत साधनले भरिपूर्ण नेपाल देश सुनको कचौरामा भिख मागिरहेको जस्तो देखिन्छ, किन होला ?
विलकुल ठीक भन्नु भयो । नेपाल विश्वमा सबैभन्दा धनी देश हुनुपर्ने हो । प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश नेपालमा नेताहरू एक आपसमा लडेर कुनै पनि राष्ट्रिय महत्वका आयोजनालाई सफल हुन दिएनन् । नेपालमा जलस्रोतको सही सदुपयोग गरेर विद्धुत उत्पादन गर्ने हो भने विदेशमा गएका सबै नेपालीहरू फर्केर आउने छन् । नेपाल त्यति धनी हुन्छ । विदेशबाट मजदुर मगाउनुपर्छ । राणाशासन, पञ्चायती शासन, बहुदलीय संसदीय शासन, लोकतान्त्रिक शासन सबैले नेपालको विकासलाई रोकेर राखी रहेका छन् । आआफ्ना तर्क दिएर नेपालको विकास र समृद्धिलाई रोकी राखेका छन् । चाहे भारतको नाउँमा होस् । चाहे अमेरिकाको नाउँमा होस् । सबका सबलाई गाली गरेर विकास रोकी राखेका छन् ।
० प्रसंग बदलौ, पूर्व राजा ज्ञानेन्द्रले नातिका लागि राजतन्त्र पुनः स्थापना गर्ने कोसिस गरिरहेको कुरा मिडियामा आइरहेका छन् नि ?
तपाईंले थाहा पाएजस्तै मैले पनि थाहा पाएको छु । तर, गुमेको राजतन्त्र फेरि फर्केर आउँछ जस्तो मलाई लाग्दैन । विश्वमा छिटफुट राजतन्त्रको पुनः स्थापना भए पनि नेपालमा त्यस्को कुनै सम्भावना देख्दिन ।
० तपाईं नेपालका राजनीतिक दलहरू कसरी अघि बढोस् भन्न चाहनुहुन्छ ?
नेपालका राजनीतिक दलहरू सबै लोकतान्त्रिक र सहमतिको साथ अगाडि बढोस् भन्ने चाहन्छु । यो भन्दा अर्को कुनै बाटो छैन ।
० अन्त्यमा
नेपाल विकसित देश बन्यो भने म त विहार युपीको मान्छे, नेपालमा बिजुली भयो भने नेपालको बिजुली युपी र विहारमा जान्छ, हाम्रो विहारको पनि विकास हुन्छ, युपीको पनि विकास हुन्छ । मेरो देशको
पनि विकास हुन्छ । नेपालमा बिजुली उत्पादन होस् । नेपालमा धेरै अन्न उब्जोस् । बाहिरको मान्छे आएर खेतीपाती गरोस् । कृषि प्रधान देश नेपाल सबल बनोस् । बिजुली प्रधान देश नेपाल समृद्ध बनोस् । नेपालले जति तरक्की गर्छ, हामी विहारीलाई त फाइदा नै फाइदा छ ।